जुम्ला : गाडी गुड्ला भन्ने कल्पना पनि थिएन । विश्व बैंकको सहयोग र नेपाली सेनाको अथक प्रयासले सुर्खेत–जुम्ला २३२ किमि दूरीको कर्णाली राजमार्ग २०६२ सालमा सञ्चालन भयो । कर्णाली राजमार्ग सञ्चालनले चामल, नुनतेल ल्याउन महिना दिन हिँड्नुपर्ने बाध्यताको अन्त्य मात्र भएन । गाउँगाउँमा भौतिक विकासले फड्को मार्याे, युवाले रोजगारी पाए, स्थानीय उत्पादनले बजार पायो, दुरदराजमा चेतनाको विस्तार भयो भने आम कर्णालीबासीको जीवनशैली र दिनचर्यासमेत फेरियो ।“
तर कर्णाली राजमार्गले भित्राएको विकासलाई भुलेर नागरिकहरु राजमार्गनै साँघुरो हुने,दुर्घटनाको जोखिम बढ्ने गरि अनियन्त्रित रुपमा सडक अतिक्रमण गर्न तर्फ उद्दत देखिन्छन् ।
सडक बनाउने,स्तरबृद्दि गर्ने,विस्तार गर्ने काम र जिम्मेवारी सडक डिभिजनको नै हो । तर सधै उपभोग गर्ने सडकको सुरक्षा गर्ने जिम्मेवारी दायित्व नागरिकको हैन र ? मुख्य राजमार्गबाटै गाउँगाउँमा सडक पुराउने स्थानीयतहको जिम्मेवारी छैन् र ? पिच सडकमै चेनवाला डोजर गुडाउने,सहायक सडक निर्माण गर्दा राजमार्गै अबरुद्द हुने गरि काम गर्ने स्थानीयतहको सडक सुरक्षामा देखिएको उदासिनता गैरजिम्मेवारी पुर्ण रहेको नागरिक अगुवा राज बहादुर महत बताउँछन् ।
विगतमा स्तरवृद्धि नहुँदा र अहिले सडक अतिक्रमणले कर्णाली राजमार्गमा वर्षेनी सवारी दुर्घटना बढेको देखिन्छ । एक लेनको साँघुरो सडक, साना मोड, पुराना थोत्रा सवारी त्यसैमाथि सडक अतिक्रमणका कारण कर्णाली राजमार्गमा सवारी दुर्घटना बढ्दै गएको छ ।
सडक डिभिजनले अतिक्रमण हटाउने अभियान थालेपनि स्थानीयतह,नागरिकले साथ नदिँदा,प्रहरी प्रशासले चासो नदिँदा अतिक्रमण हटाउन मुस्किल भएको छ । पहिलो चरणमा जुम्लाको बसपार्क क्षेत्रमा ०७८ मंसिर ६ देखि एकहप्ते अतिक्रमण हटाउन सूचना प्रकाशन र दोस्रो चरणमा ०७८ पुस २० गते सूचनाको अटेरी गरेपछि बल प्रयोग गरेर अतिक्रमण हटाउने अभियान थालिएको थियो । नापी कार्यालयबाट नापजाँच तथा सीमांकन गरे पश्चात अतिक्रमण गरी निर्माण भएका घर, टहरा, पर्खाल भत्काइयो भने सडकमा राखेका निर्माण सामग्री हटाइएको थियो ।





हाम्रो कर्णाली । ११ श्रावण २०८०, बिहीबार ०९:०४