तातोपानीको लाछुज्यूलोमा रोपाइँ महोत्सव

जुम्ला ः जुम्लामै पहिलो मार्सीधान फलेको लछालकृति पैकेलोको नामाकरण गरेको खेत (गुरुफोक्टो) मा मंगलबार जिल्लाव्यापी दोस्रो रोपाइँ महोत्सव गरिएको छ । ८ स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा किसानको सहभागितामा रोपाइँ महोत्सव गरिएको हो ।
महोत्सवमा पञ्चेबाजा र मुग्लेरी प्रस्तुतिसँगै उच्चपदस्थ व्यक्ति नै हली बाउसे, रोप्नेरी, विगारे, बिउ फाल्ने, भिट्टा लगाउने कामदारका रूपमा रोपाइँमा खटिएका थिए भने रोपाइँ सकिएपछि चोपाइँ गरिएको थियो । त्यसपश्चात सयौको संख्यामा हिलो खेलेर किसानलाई प्रेरणा हुने गरी रोपाइँ दिवस मनाइएको तातोपानी–३ का वडाध्यक्ष गोकर्ण रावलले बताए ।
स्थानीय सरकार आएपछि जुम्लामै पहिलो मार्सी फलेको गुरुफोक्टो २०७५ मा पहिलो रोपाइँ महोत्सव गरिएको थियो । कोरोनाका कारण विगत वर्षमा हुन नसकेको महोत्सव यस वर्ष भएको हो । महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचायले गुरुफोक्टोलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न यसको इतिहासबारे अभिलेख तयार गर्नुपर्ने बताए ।
उनले भने, “लछालकृति पैकलाको शालिक बनाउनुका साथै गुरुफोक्टोलाई सरकारी स्वामित्वमा लिन जरुरी छ भने पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको चिनारी तयार गरी प्रचारमा जोड दिएमा पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने निश्चित छ ।” मार्सीधानको उत्पादन वृद्धि गुणस्तर उत्पादनमा ध्यान दिए किसानको आयआर्जन वृद्धिसँगै गुरु गुरुफोक्टो संरक्षण हुने उनको भनाइ छ ।
जिसस उपप्रमुख जनक थकालीले मार्सीधान उत्पादनमा दृष्ट् िलाछु ज्युलाको आफ्नै ऐतिहासिक महत्व र विशेषता भएकाले त्यसको संरक्षणका लागि तीनै तहका सरकारसँग समन्वय गरी लगानी बढाउनु पर्नेमा जोड दिए । तातोपानी गाउँपापालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइले जुम्लामै पहिलोपटक मार्सीधान उत्पादन भएको खेत (गुरुफोक्टो) लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न, किसानलाई धानखेतीमा प्रेरित गर्न, ब्युटाक्लोर प्रयोगमा निषेध लगाउन रोपाइँ महोत्सव गरिएको बताए ।
पहिलो सरकार हरेक वर्ष जेठ ३० गते गुरुफोक्टोमा रोपाइँ महोत्सव मनाउने निर्णय गरेअनुसार निरन्रता दिँदै आएको अध्यक्ष चौलागाईंको भनाइ छ । पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले पहिलो पटक मार्सीधान फलेको गुरुफोक्टोे, विश्वकै अग्लो स्थानमा धान उत्पादन हुने छुमज्युलो प्रचार प्रसार, संघ, प्रदेशको बेवास्ताले ओझेलमा परेको दुवै क्षेत्रको विकासका लागि साझा पहल गर्न जरुरी रहेको बताए ।
तातोपानीका निवर्तमान गाउँपालिका अध्यक्ष नवराज न्यौपानले रोपाइँ दिवस मनाइरहँदा लाछु ज्युलाको आधा भाग बालुवा भरिएर बगर बनेकोले स्थानीय तहले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । रैथानेबाली उत्पादन र उपभोग दुवै घटेकाले किसानलाई उत्पादनसँग जोड्ने नीति ल्याउनुपर्ने सुझाव दिए ।
तातोपानी र पातारासी गाउँपालिकाकी उपाध्यक्ष द्वय रेवती रावल र जनमाया रोकायाले मार्सी धानको पहिलो खेती गरिएको गुरुफोक्टोलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न महापुरुष पैकलोको इतिहासलाई जीवित राख्न मार्सीको जगेर्ना गर्न गुरुयोजना बनाउनु पर्ने बताएका छन् ।

 




तपाईको प्रतिक्रिया