नवौं राष्ट्रिय खेलकुदमा पूर्वाधारको चिन्ता

विक्रम संवत् २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौं आयोजनाको जिम्मेवारी पायो । गण्डकीको टोलीलाई २ वर्षपछि नवौं आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो ।

गण्डकीमा विक्रम संवत् २०७७ फागुन अन्तिम सातालाई तय भएको राष्ट्रिय खेलकुद यसबीचमा कोरोनाका कारण पटक–पटक प्रभावित बन्यो । पछिल्लो पटक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रतियोगिताको मिति तय गरेर तयारीका काम अघि बढाइएको छ तर पनि खेल पूर्वाधारकै चिन्ता कायमै छ ।

गण्डकीमा प्रतियोगिता तय भएको ३ वर्षभन्दा बढी समय भयो तर अहिले पनि कतिपय खेलका पूर्वाधार नै छैनन् । गण्डकी प्रदेश अन्य प्रदेशका तुलनामा खेलकुद पूर्वाधारमा अब्बल रहे पनि नवौंलाई लक्ष्य गरी निर्माण गरिने तय भएका खेल पूर्वाधार निर्माण नहुँदा ती खेल कहाँ खेलाउने यकिन भएको छैन ।

खेल पूर्वाधारमा बर्सेनि बजेट विनियोजन गरिएपनि स्वीमिङ (पौडी पोखरी), सुटिङ, हक्की र रग्वी खेलका पूर्वाधार बन्न सकेनन् । प्रतियोगिताको मिति नजिकिदै जाँदा पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता खेल पदाधिकारी र खेलाडीमा कायम छ ।

पोखरा रंगशालाभित्र पौडी पोखरी र सुटिङको पूर्वाधार बनाउन जमिन व्यवस्था गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले बजेट व्यवस्था गरेको हो तर यी खेलका पूर्वाधार बनाउन पर्याप्त समय भएपनि काम नै शुरू हुन सकेन ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न उपसमिति गठन गरी तयारीका काम अघि बढाएको छ । खेलस्थल व्यवस्थापन उपसमितिले अहिले प्रदेशका अधिकांश जिल्लामा पुगेर खेल पूर्वाधार अवलोकन गरेको छ । यहाँ अधिकांश खेलका पूर्धाधार तयारी अवस्थामै छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमितिका सदस्य राजेश गुरुङले पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्तामा आफूहरू रहेको बताए । समिति पौडीका लागि पोखरामा रहेका निजी विद्यालय र होटलका पौडी पोखरीलाई प्रतियोगिताका लागि प्रयोगमा ल्याउने योजनामा छ ।

आठौं राष्ट्रिय खेलकुदमा पनि होटलको पौडी पोखरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो । पोखरामा पूर्वाधार नभएका खेल काठमाडौंमा खेलाउने योजना रहे पनि यहाँका खेल पदाधिकारी तथा खेलाडी सबै खेल गण्डकीमै हुनुपर्ने पक्षमा छन् ।

‘राष्ट्रिय खेलकुदका लागि मुख्य गरी पौडी र सुटिङको पूर्वाधार हामीसँग छैन । पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता रहेपनि यसलाई हामी व्यवस्थापन गर्छाैं,’ खेलस्थल व्यवस्थापन उपसमिति संयोजक गुरुङले भने, ‘राखेपका सदस्य सचिव र पौडी संघको अध्यक्ष सहितको प्राविधिक टोली पोखरा आउँदै हुनुहुन्छ, उहाँहरूसँग छलफल गरेर हामी विकल्प तयार गर्छौं ।’

पोखरा रंगशालामा नभएका खेलका पूर्वाधार निर्माण गर्न पर्याप्त समय छ तर आवश्यक बजेटको सुनिश्तिता नहुँदा काम शुरू नभएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

पोखरा रंगशालाभित्र पौडी र सुटिङका लागि यसअघिका २ आर्थिक वर्षमा लगातार बजेट विनियोजन गरिए पनि पर्याप्त नभएको र थप बजेटका लागि स्रोत सुनिश्चित नहुँदा टेण्डर आह्वान लगायतका काम नभएको समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो । पौडी पोखरीलाई ३५ करोड रुपैयाँ हाराहारीमा लागत स्टीमेट तयार गरिएकोमा सरकारले अघिल्लो वर्ष ५ करोड छुट्टाएको थियो ।

योगीले भने, ‘विनियोजित बजेट अपर्याप्त रह्यो र थप स्रोतको सुनिश्तिता नहुँदा टेन्डर आह्वान लगायतका काम अघि बढाउन सकिएन ।’

पोखरा रंगशालाभित्र सबै खेलको पूर्वाधार अटाउन सक्ने अवस्था नभएकाले रंगशाला बाहिर व्यवस्थापन गरेर सुटिङ बाहेकका नवौंका सबै खेल पोखरा र गण्डकी प्रदेशमै गर्ने योजना रहेको समितिले जनाएको छ । सुटिङलाई भने गण्डकीमा सम्भव नदेखिएको र काठमाडौंमै गर्नुपर्ने बाध्ता रहेको बताइन्छ । रग्वी र हक्कीलाई प्रशिक्षणस्थल तय भएकाले समस्या नहुने समितिले जनाएको छ ।

नवौंलाई गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले भदौ १५ गतेभित्रमा प्रतियोगिताको खेलस्थल तय गर्ने योजनामा छ । खेल पूर्वाधार रहेका जिल्लामा आवास, अस्पताल, यातायात र सुरक्षालाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय गरिने गुरुङले बताए ।

उनले भने, ‘प्रदेशका अधिकांश जिल्लाहरूमा रहेका खेल पूर्वाधारहरुको निरीक्षण गरेका छौं । खेल सञ्चालन गर्न आवश्यक सबै पक्षलाई हेरेर खेलस्थलको टुंगो लगाउने तयारीमा छौं ।’

नवौं राष्ट्रिय खेलकुदका ३६ र २ प्रदर्शनी खेलमध्येमा अधिकांश प्रदेशको राजधानी र पूर्वाधार भएका हिसाबले पोखरामा नै हुनेछन् । राष्ट्रिय खेलकुदको अपनत्व सबैलाई दिलाउन प्रदेशका ११ वटै जिल्लामा कम्तीमा १/१ खेल खेलाउने योजना आयोजकको छ ।

राष्ट्रिय खेलकुदमा ७ प्रदेश, ३ विभागीय र एनआरएनको १ गरी ११ टोलीले सहभागिता जनाउने निश्चित भएको प्रदेश खेलकुद परिषद् गण्डकीले जनाएको छ ।

प्रतियोगितामा ४०७ स्वर्ण पदकका लागि खेलाडबीच प्रतिस्पर्धा हुनेछ । कुनै टोलीले ३६ वटै खेलमा भाग लिएको अवस्थामा टोलीमा ७०८ जनासम्म खेलाडी सहभागी हुने भएकाले प्रतियोगितामा कूल ७ हजार ७८८ खेलाडी मात्र सहभागी हुने सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए । खेलाडी बाहेक प्रशिक्षक, टोलीका व्यवस्थापक, रेफ्री गरी ९ हजार हाराहारीमा खेलकुदकर्मीको सहभागिता प्रतियोगितामा हुने बताइन्छ । – कृष्ण दवाडी/रासस



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...