
पूर्ण चौलागाईं ।
जुम्लाको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीको आत्मकथात्मक पुस्तक ;आधा अध्याय’ सार्वजनिक भएको छ।कर्णालीको माटो, संघर्ष र राजनीतिका अनुभव समेटिएको उक्त पुस्तक बुधबार सार्वजनिक गरिएको हो। साथै सो पुस्तकमा अध्यक्ष शाहिको व्यक्तिगत जीवनका घटनामार्फत कर्णालीको सामाजिक यथार्थ, लोकतान्त्रिक आन्दोलन र जनमुखी राजनीतिको अभ्यास उजागर गरिएको छ।त्यस्तै शाहिले पुस्तकमा आफ्नो जीवनयात्रा, कर्णालीको सामाजिक यथार्थ, ग्रामीण विकासका चुनौती र राजनीतिमा जनतासँग जोडिएर काम गर्दाका अनुभवलाई पनि लिपिबद्ध गरेका छन्।
नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा कांग्रेस महामन्त्री उदयशमशेर राणा, संसदीय दलकी सचेतक वासना थापा, लेखक तथा समीक्षक मनऋषि धिताल, कवि तथा लेखक महेन्द्र अतल लगायत साहित्यकार, पत्रकार र राजनीतिकर्मीको उल्लेख्य सहभागीता रहेको थियो ।
पुस्तकको नाम ‘आधा अध्याय’ भए पनि यसले एउटा व्यक्तिको जीवनको आधा हिस्सा मात्रै प्रस्तुत गरेको छैन। ग्रामीण समाजमा हुर्किएको एक युवाले राजनीतिक चेतना कसरी प्राप्त गर्यो, संगठन निर्माणमा कस्ता चुनौती सामना गर्यो, निर्वाचनमा पराजय र विजयलाई कसरी लियो तथा सार्वजनिक पदमा पुगेपछि जनताको जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई कसरी प्राथमिकता दियो भन्ने पक्ष पुस्तकका मुख्य आधार भएको साहित्यकार लक्ष्मण बहादुर शाहीले बताए ।

‘आधा अध्याय’को एउटा महत्त्वपूर्ण पक्ष लेखकले आफ्नो राजनीतिक जीवन र सार्वजनिक जिम्मेवारीलाई छुट्टाछुट्टै विषयका रूपमा नहेर्नु हो। पुस्तकमा राजनीतिक यात्रा, संगठन निर्माण, चुनावी अनुभव र जनप्रतिनिधिका रूपमा गरेका कामलाई जीवनका विभिन्न चरणसँग जोडिएको छ।

हाम्रो कर्णाली । २९ आश्विन २०८३, बिहीबार १८:५८