
पूर्ण चौलागाईं ।
जुम्लामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता सुरु भएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ वटा जिल्लाका खेलाडीको सहभागितामा सोमबारदेखि छनोट प्रतियोगिता सुरु भएको हो ।उक्त प्रतियोगितामा हुम्ला र डोल्पा सहभागी भयनन।
१८ वर्ष माथिका महिला तथा पुरुष खेलाडी सहभागी प्रतियोगिताको सोमबार उद्घाटन भएको छ।
प्रतियोगितामा दैलेख, सुर्खेत, रुकुमपश्चिम, सल्यान, जुम्ला, कालिकोट, जाजरकोट र मुगु जिल्लाका खेलाडी सहभागी भएका छन् ।
जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले प्रतियोगितामा तेक्वान्दो छनोटका प्राविधिक टोली तथा कर्णाली प्रदेश तेक्वान्दो समितिका पदाधिकारीको सहभागिता रहेको बताए ।जुम्लामा सञ्चालन भइरहेको छनोट प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराइने प्रमुख न्यौपानेको भनाइ छ।
कर्णाली खेलकुद परिषद्का सदस्य तथा जुम्ला र कालिकोट जिल्लाका खेल संयोजक पंखबहादुर मल्लले तेक्वान्दो विधामा कर्णाली प्रदेशबाट उत्कृष्ट खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने बताए ।खेलकुदका माध्यमबाट कर्णाली प्रदेशलाई राष्ट्रियस्तरमा अग्रस्थानमा पु¥याउन सकिने उनको भनाइ छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशका विभिन्न जिल्लामा छनोट खेल सञ्चालन भइरहेका छन् । प्रदेशस्तरीय छनोट प्रतियोगिताले प्रतिभावान् खेलाडी पहिचान गर्नुका साथै राष्ट्रिय प्रतियोगितामा कर्णालीको प्रतिनिधित्व बलियो बनाउने अपेक्षा गरिएको छ ।

हाम्रो कर्णाली । २६ आश्विन २०८३, सोमबार १९:४५