भोटेकोशी बाढीपीडितका लागि गुठीचौर गाउँपालिकाको १२ लाख सहयोग गर्ने

पूर्ण चौलागाईं ।
जुम्लाको गुठीचौर गाउँपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि १२ लाख ६७ हजार आर्थिक सहयोग गर्ने भएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताए ।
गाउँपालिकाले विपद्को यस कठिन घडीमा बाढीपीडितका लागि राहत तथा पुनःस्थापनाको काममा ऐक्यबद्धता जनाउँदै सबैलाई सहयोगको अपिल समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाको भनाइ छ ।
गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट कुल १२ लाख भन्दा बढी रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष शान्ति कुमारी मल्लले बताइन् ।
भोटेकोशीको विनाशकारी बाढीबाट भएको ठुलो जनधनको क्षतिप्रति गाउँपालिकाले दुःख व्यक्त गर्दै बाढीपीडितको उद्धार,राहत तथा पुनःस्थापनाका लागि नागरिकहरूमाथि परेको दुःखद् परिस्थितिमा एकताबद्ध भएर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्थानीय तह सधैँ तत्पर रहने गुठीचौर गाउँपालिकाले जनाएको छ ।
साथै गाउँपालिकाका नागरिकहरुको हकमा जनही रु ७५ हजारका दरले जम्मा ९ जनालाई रु ६ लाख ७५ हजार खोज तथा उद्धारका लागी एकाघरका सदस्यलाई उपलब्ध गराउने निर्णय गरिएको गुठीचौर गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया