सिंजामा भाद्र १० गते स्याउ दिवस मनाइयो, स्याउ संकलन र निर्यात गर्न सुरु

पूर्ण चौलागाईं ।
जुम्ला स्याउको लागि नेपालको प्रख्यात जिल्ला हो।यतिबेला जुम्लाको स्याउ परिपक्क भैसकेको छ। स्याउ बगैंचामा फलेका राता स्याउले सबैको मन बगैंचातिर तानिरहेको छ। कृषकहरु स्याउ संकलनमा जुटेका छन् ।
यसै सन्दर्भमा जुम्लाको सिंजा गाउँपालिकामा भाद्र १० गते स्याउ दिवस मनाइएको छ। सिंजाले हरेक वर्ष भाद्र १० गतेलाई स्याउ दिवस मनाउदै आएको छ। “काचो स्याउ टिपाइमा हाम्रो सावधानी , गुणस्तरीय अर्गानिक स्याउ बिक्रीबाट लिउ राम्रो आम्दानी ” भन्ने मुल नाराका साथ सो दिवस मनाइएको हो।गुणस्तरहिन स्याउ निर्यातले जुम्लाको पहिचान नै मेटिने खतरा भएकोले गुणस्तरीय स्याउ निर्यात गर्ने हेतुले हरेको वर्ष भाद्र १० लाई सिंजाले स्याउ दिवस मनाउने गरेको सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए । स्याउ खेती गर्ने किसानलाई पालिकाले पहिलो प्राथमिकतामा राखेको र स्याउ खेती बिस्तारमा सम्बन्धित निकायसंग समन्वय र सहकार्य गर्ने सिंजा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ।


जुम्लाबाट निर्यात हुने गुणस्तरीय स्याउले राष्ट्रिय बजारमा सकारात्मक प्रभाव पार्ने भएको हुँदा स्याउको बिश्वसनियता कायम राख्नको लागि जुम्ला जिल्लाले भाद्र पहिलो सातापछि मात्र निर्यात गर्ने गरेको निर्णय कार्यन्वन गरेकोमा जिल्ला कृषि बिकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख रामभक्त अधिकारीले सिंजा गाउँपालिकाप्रती हार्दिक आभार प्रकट गरे। साथै कार्यालयबाट प्रदान गरिने अनुदानमा सहि कृषक छनोट गरि स्याउ खेती बिस्तारलाई प्रभावकारी बनाउने कृषि बिकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख अधिकारीले बताए ।


सिंजा गाउँपालिकामा भाद्र १० गतेदेखि स्याउ संकलन र बिक्रीवितरण खुला गरिएको सिंजा-२ का वडाअध्यक्ष तथा प्रबक्ता तिर्थ वडले बताए ।
दिवसमा स्याउ कृषक,जनप्रतिनिधि ,कृषि बिकास शाखाका प्रमुखहरु अन्य सरोकारवालाको सहभागिता रहेको थियो। जिल्ला कृषि बिकास कार्यालय जुम्लाको आयोजना र सिंजा गाउँपालिका कृषि शाखाको सहजीकरणमा सो दिवस मनाइएको हो।

तपाईको प्रतिक्रिया