
पदम शाही ।
जुम्ला ः जुम्लामा लैङ्गिक हिंसा सम्बन्धी उजुरी रिपोर्टिङ् संयन्त्र तथा संरक्षणका विषयमा साथी शिक्षाको प्रशिक्षकको पुनरावृद्धि तालिम एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल,जुम्लाको आयोजनामा सिंजा,हिमा र कनकासुन्दरी गाउँपालिका २१ जना किशोरकिशोरीलाई तीनदिने लैङ्गिक हिंसा सम्बन्धी उजुरी रिपोर्टिङ् संयन्त्र तथा संरक्षण सम्बन्धी तालिम दिइएको क्याड नेपाल जुम्लाका कार्यक्रम संयोजक राजेश एरीले जानकारी दिनुभयो ।

तालिमको मुख्य उद्देश्य लैङ्गिक हिंसाका घटनामा प्रभावकारी उजुरी तथा रिपोर्टिङ् संयन्त्रबारे सहभागीलाई जानकारी गराउनुका साथै पीडित तथा प्रभावित व्यक्तिको संरक्षण, गोपनीयता र सुरक्षित सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक ज्ञान तथा सीप अभिवृद्धि गर्नु रहेको क्याड नेपाल जुम्लाका अध्यक्ष जयालक्ष्मी चौलागाईको भनाइ छ ।
लैङ्गिक हिंसाविरुद्ध सुरक्षित, सम्मानजनक र प्रभावकारी उजुरी प्रणाली विकास गर्न तालिम महत्वपूर्ण रहेको छ । हिंसामुक्त तथा सम्मानजनक समाज निर्माणमा सहकार्य र सचेतना अभिवृद्धिमा किशोर किशोरीहरुको समेत महत्वपूर्ण भुमिका रहेको जिल्ला समन्वय समितिका समन्वय अधिकारी रोम बहादुर महतले जानकारी दिनुभयो ।
तालिमबाट प्राप्त गरेका ज्ञान र सीपलाई समुदायस्तरसम्म पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले बताउनुभयो । प्रशिक्षक कुसुम केसीले तालिमबाट सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने सहभागीको काँधमा आएको बताउनुभयो ।

तालिका सहभागी सिंजा गाउँपालिका गोविन्द खत्रीले तालिमबाट सिकेका कुरालाई सबैभन्दा पहिला विद्यालयस्तरमै सचेतना जस्ता कार्यक्रम संचालन गरिने भएको छ । लैङ्गिक हिंसा सम्बन्धी उजुरी दर्ता तथा रिपोर्टिङ् प्रक्रिया, पीडितको सुरक्षा र संरक्षण, गोपनीयता, संवेदनशील घटनाको व्यवस्थापन तथा सम्बन्धित निकायसँग समन्वय लगायतका विषयमा छलफल तथा अभ्यास गरिने बताउनुभयो ।

हाम्रो कर्णाली । ८ भाद्र २०८३, सोमबार २१:२४