
जुम्ला ः जेष्ठनागरिक संघको भवनमा खानेपानीको समस्या रहेको गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघको ६८ औँ स्थापना दिवसको अवसरमा फलफूल बितरण तथा अन्तरक्रिया कार्यक्रममा जेष्ठनागरिकले दुई महिनादेखि भवनमा खानेपानीको समस्या रहेको गुनासो गरेका हुन् ।
जेष्ठ नागरिक संघको कार्यालयमा खानेपानीको समस्या रहेको कार्यबहाक अध्यक्ष तुलराम न्यौपानेले बताए । उनले भने यो समस्या जिल्लाका सरोकारवाला निकायलाई भनौँ । तर सुनुवाई भएको छैन् । यो भवनमा दैनिक ६०÷७० जना जेष्ठनागरिक आउन्छन् । तर खानेपानी पाउदैनन् । खानेपानी जडान भएपनि नियमित आउदैन । खलंगा खानेपानी उपभोक्ता समितिसँग भनौँ तर सुनुवाई भएन । भवनको छतमा रहेको ट्यांकीमा पानी खसाल्नका लागि जिल्ला अदालत नजिकबाट जडान गर्न खोजिएको हो ।
पानी नहुदा शौचालय पनि प्रयोगविहीन छन् । अतिआवश्यक परेको खण्डमा वडा कार्यालय र ओमशान्तिको कार्यालयबाट पानी बोकेर ल्याउने गरेका छौँ । माघ महिनादेखि यो समस्या झेल्दै आएको उनले बताए ।

यातायात सार्वजनिक सवारी साधनमा पनि जेष्ठनागरिकलाई सुरक्षित सिटसहित छुट दिने नगरिएको चन्दननाथ नगरपालिका १० बोहरागाउँका ८६ वर्षीय पुरिनाथ न्यौपानेले बताए । उनले भने यो विषयमा धेरै पहल पनि भएको हो । राज्यका सरोकारवाला निकायसहित यातायात व्यवसायीले सुनुवाई गरेका छैनन् ।
जेष्ठनागरिक, अपांगता भएका व्यक्ति, दलित, महिला, जनजाती र बालबालिका लक्षित वर्गमा पर्दछन् । संघीयता अघि लक्षित वर्गको क्षेत्रमा काम गर्नका लागि १५ प्रतिशत रकम विनियोजन गर्ने गरिएको थियो । तर संघीयतासँगै स्थानीय तहमा जनप्रतिनिधि आएदेखि यो बजेट विनियोजन नहुने गरेको जेष्ठ नागरिक भवानीप्रसाद न्यौपानेले बताए । उनले भने यो विषयमा धेरै आवाज उठाउदा पनि सुनुवाई हुने गरेको छैन ।
यस्तै स्वास्थ्य सेवामा पनि जेष्ठनागरिक बञ्चित छन् । हरेक सेवा प्रदायक कार्यालयमा जेष्ठनागरिक, अपांगता भएका व्यक्तिलाई सेवामा प्रथामिकता दिने व्यवस्था भएपनि कार्यन्वयन नहुने गरेको जेष्ठ नागरिक संघ जुम्लाले जनाएको छ ।

जेष्ठनागरिकका हकहितका विषयमा सधै आवाज उठान गर्ने गरिएको नेपाल पत्रकार महासंघ शाखा जुम्लाकी कार्यबहाक अध्यक्ष दिलमाया शाहीले बताइन् । उनले भनिन् हामी पत्रकारले उठान गरेका समस्या राज्य समाधान गर्ने गरेको पाईदैन । अझै पनि समस्या उठान गर्न पछि पर्ने छैनौँ ।
खलंगा खानेपानी उपभोक्ता महासंघ जुम्लाका महासचिव मीनबहादुर थापाका अनुसार जेष्ठ नागरिक संघको भवनमा खानेपानी लाइन जडान गर्ने निर्णय भएको हो । सोही बमोजिम कर्मचारीलाई पनि निर्देशन गरेका छौँ । केकति समस्या भएको रहेछ तत्काल बुझेर खानेपानीको समस्या समाधान गर्ने छौँ ।




हाम्रो कर्णाली । १६ चैत्र २०७९, बिहीबार १९:११