
जुम्ला ः बैशाख ११ गते चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन–२०८० हुने भएको छ । विश्व किर्तीमानी धावक हरिबहादुर रोकायको सम्मान स्वरुप तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको आयोजना गरिएको हो ।
विगतका तीन वटा संस्करणको सफलतापछि आगामी बैशाख ११ गते कर्णाली खेलकुद क्लब जुम्लाले आयोजना गरेको हो । धावक रोकायाको सम्मानमा चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी तिब्र रुपमा भईरहेको कर्णाली स्पोर्ट क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए ।
पूर्व तयारी अनुसार यस प्रतियोगितालाई व्यवस्थित तथा सफल बनाउन विभिन्न चार ठाउँहरुमा चेक पोईन्ट, उपसमिति तथा दौड हुने रुटका वजार तथा गाउँहरुमा खेलाडीहरुको स्वागत तथा सत्कारको तयारी भईरहेको छ ।
चन्दननाथ भैरवनाथको आँगन, खलंगा वजारवाट शुरु भई मुगुमा स्थित नेपालकै सबैभन्दा ठुलो रारा तालको हुटु छेउमा अन्त्य हुनेछ । जुम्ला–रारा अल्ट्रा म्याराथन दौड प्रतियोगिताको दूरी ४९ किलोमिटर रहेको छ । विगतका तिनवटा प्रतियोगिताहरुमा ३ सयदेखि ४ सयको हाराहारीमा देश विदेशका खेलाडी सहभागी रहेकोमा यसवर्ष झण्डै २ हजार खेलाडीको सहभागिता गराउने लक्ष्य राखिएको अध्यक्ष शाहीको भनाई छ ।
गत वर्षको प्रतियोगितामा नेपालका १८ जिल्लाका साथै बेलायत, नेदरल्याण्ड, भारत, इटाली, अमेरिकावाट समेत खेलाडीहरु सहभागी भएका थिए ।
यस वर्ष प्रतियोगिताका विभिन्न बिद्याहरुमा २८ जना धावकहरुलाई नगद, मेडल तथा प्रमाण पत्रद्धारा पुरस्कृत तयारी छ । जुम्ला–रारा अल्ट्रा म्याराथनको विजेता महिला पुरुष दुबैले नगद १÷१ लाख पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिने छ । द्धित्तिय हुनेले नगद ७५ हजार, तृत्तिय हुनेले ५० हजार, सान्तोवना हुनेले २० हजार र पाँचौ स्थानमा आउनेले पनि २० हजार नगद सहित प्रमाण पत्र र मेडल प्रदान गरिने कर्णाली खेलकुद क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।
त्यस्तै विद्यार्थीबीच ५ किलोमिटर दुरीको छोटो दौड प्रतियोगिता पनि हुने छ । जसमा प्रथम हुनेले ५ हजार नगद सहित पुरस्कार उपलव्ध गरिने छ । क्रमशः द्धित्तिय, तृत्तिय हुनेले ३ र २ हजार नगद र मेडल प्रमाण पत्र पाउने छन् ।
साथै ५ किलोमिटर दुरीको कार्यालय कर्मचारी र व्यापारी उद्योगी बीचको दौड प्रतियोगिता हुने छ । १ किलोमिटर दुरीमा बालबालिकाको दौड प्रतियोगिता हुने छ । जसमा प्रथम, द्धित्तिय, तृत्तिय हुनेलाई आर्कषक पुरस्कारको व्यवस्था गरिएको छ । चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताका लागि झण्डै २२ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।
यो प्रतियोगितालाई निरन्तरता दिने लक्ष्य रहेको धावक हरिबहादुर रोकायाले बताए । उनले भने यसबाट खेल पर्यटनतर्फ आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।




हाम्रो कर्णाली । १४ चैत्र २०७९, मंगलवार १९:३३