हिमाको जोगिबाडामा ६ करोडको पक्की पुल निर्माण हुँदै

पूर्ण चौलागाईं ।
जुम्लाको हिमा गाउँपालिका ३ स्थित जोगिबाडामा ६ करोड लागतमा पक्की पुल निर्माण हुने भएको छ। कर्णाली प्रदेश सरकारको भौतिक पुर्वाधार तथा शहरी बिकास मन्त्रालयको ६ करोड ३४ लाख लागतमा उक्त पुल निर्माण हुने भएको हो।
अनुमानित लागत ८ करोड भएको सो पुल श्री मल्ल कन्ट्रक्सन दैलेखसंग ६करोड ३४ लाखमा निर्माण गर्न सम्झौता भएको पुर्वाधार बिकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रुपक रावलले बताए । ४० मिटर लम्बाई भएको नयाँ प्रबिधिको पुल निर्माण हुन लागेकोले सबैलाई सहयोग गर्न कार्यालय प्रमुख रावलले आग्रह गरे।
कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाईले बुधबार सो पुलको सिलान्यास गरेका हुन् ।हिमा -१ र ३ का नागरिकहरुको सहजताको लागि हिमानदी स्थित जोगिबाडामा उक्त पक्की पुल निर्माण गर्न महत्वपूर्ण भुमिका खेलेको कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाईले बताए ।बिकास निर्माणमा प्रदेश सरकार जनताको सर्वपरी हितमा रहेको प्रदेश सभा सदस्य पछाईको भनाइ छ।


निर्माण कार्यमा स्थानीय सरकारको अहम् भुमिका रहने भएको हुँदा समन्वय र सहकार्य गर्न गाउँपालिका प्रतिबद्ध रहेको हिमा गाउँपालिका उपाध्यक्ष सुपर्ना शाहीले बताइन् ।
पुल निर्माण भएपछि बड्की , जोगिबाडा,च्यामा र मोफ्ला गाउका स्थानीयबासी प्रत्यक्ष लाभान्वित हुने हिमा-३ का वडाअध्यक्ष धनबिर रोकायाले बताए ।

तपाईको प्रतिक्रिया