विज्ञान प्रदर्शनीमा कनकासुन्दरीकि राधिका र चित्रकलामा च.ना.कि रमिता बोहोरा प्रथम

पूर्ण चौलागाईं ।
बिद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत जुम्लामा बिद्यालय स्तरीय खुला विज्ञान प्रदर्शनी तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा विज्ञान प्रदर्शनीतर्फ कनकासुन्दरी माध्यमिक विद्यालयका राधिका बुढा र सागर बुढा प्रथम भएका छन् ।त्यसैगरी सरस्वति माध्यमिक विद्यालयका दिक्षित बुढा द्वितीय तथा कर्णाली माध्यमिक विद्यालयका गोपाल कठायत तृतीय भएका छन् ।प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै चित्रकला प्रतियोगितातर्फ ब्राईट फ्युचर देउली स्कुलका रमिता बोहोरा प्रथम हुनु भएको छ । कनिका निशाका सुधन रावल द्वितीय, नेत्र ज्योति माध्यमिक विद्यालयका रोशन सार्की तृतीय तथा कालिका आधारभुत विद्यालयका दिलिसा सार्की सान्त्वना हुनु भएको छ । विजेतालाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।


कार्यक्रममा बोल्दै दीपक पौडेलले विद्यार्थीको प्रतिभाले क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो। उहाँले विज्ञान र चित्रकलामा मात्र नभई अन्य विषयमा पनि यस्ता प्रतिस्पर्धा आयोजना गरिनुपर्ने धारणा राख्नुभयो । सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोप बहादुर बुढाले प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत विज्ञान प्रदर्शनी तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार दुवै विधामा प्रथम हुने विद्यार्थीलाई जेठ १७ गते सुर्खेतमा हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइनेछ । कार्यक्रम व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल पत्रकार महासंघले सबै स्थानीय तहलाई विद्यार्थी सहभागिताका लागि जेठ ४ गते पत्राचार गरेको जनाएको छ ।


नेपाल पत्रकार महासंघको सहजीकरण तथा सामाजिक विकास कार्यालय जुम्लाको सहयोगमा विज्ञान प्रदर्शनी तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।
पत्र प्राप्त भए पनि सिँजा गाउँपालिका, हिमा गाउँपालिका, गुठिचौर गाउँपालिका र पातारासी गाउँपालिकाले विद्यार्थी सहभागिता गराउन नसकेको बताइएको छ । जिल्ला स्तरका विभिन्न कार्यक्रममा स्थानीय तहले अपेक्षित चासो नदेखाउने गरेको पनि कार्यक्रममा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया