डोल्पाका आठ पालिकामध्ये जगदुल्लाको बेरुजु कम, कर्णालीमा तेर्सो

पूर्ण चौलागाईं ।
महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन अनुसार जगदुल्लाको बेरुजु कम देखिएको छ। डोल्पाका आठ स्थानीय तह मध्ये सबैभन्दा कम बेरुजु जगदुल्लाको देखिएको हो। जसको बेरुजु २२ लाख ७१ हजार (०.३६%) प्रतिशत मात्र छ । बेरुजु कम हुनेमा जगदुल्ला डोल्पामा पहिलो र कर्णाली प्रदेशमा तेर्सो स्थानमा रहेकोे छ।
त्यस्तै ठुलीभेरी नगरपालिकाको सबै भन्दा बढी ४ करोड ६९ लाख ३१ हजार (४.६१%) ,बेरुजु कम भएको दोश्रो स्थानीय तहमा माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको ५० लाख ४० हजार (०.९९%) रहेको छ ।
क्रमशः बेरुजु कम गर्ने तेश्रो स्थानीय तहमा शे-फोक्सुण्डो गाउँपालिकाको १ करोड १६ लाख ८२ हजार (१.४५%) चौथो स्थानमा काइके गाउँपालिकाको १ करोड २३ लाख ५९ हजार (१.५६%), पाँचौं स्थानमा छार्का ताङसोङ् गाउँपालिकाको १ करोड ९२ हजार (१.८३%), मुड्केचुला गाउँपालिकाको १ करोड ६१ लाख ६८ हजार (२.०६%), त्रिपुरासुन्दरी नगरपालिकाको २ करोड ९० लाख ३४ हजार (२.६८%) र सबै भन्दा बढी ठुलीभेरी नगरपालिकाको ४ करोड ६९ लाख ३१ हजार (४.६१%) बेरुजु रहेको छ ।
हिमाली जिल्ला डोल्पाका आठ स्थानीय तह मध्ये सबै हिसाबले जगदुल्ला गाउँपालिका अग्रस्थानमा रहेको छ ।
नीति नियम र निर्देशिका अनुसार दिगो लक्ष्य निर्धारण गरेर अगाडि बढी रहेको जगदुल्ला आर्थिक पारदर्शीताका हिसाबले समेत अगाडि नै रहेको छ ।
जगदुल्ला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर पाण्डेले बजेट निर्माण र कार्यान्वयनमा भएको अनुशासन पालना, कार्यक्रम कार्यान्वयन गर्न निर्देशिका तयार, शाखाबिचको समन्वय, कानुनी प्रक्रिया बाहेक कुनै दबाब नभएको र आन्तरिक लेखा परीक्षण प्रभावकारी भएकोले बेरुजु कम भएको बताए । नीति नियमको पालना गरेर काम गर्दा बेरुजु कम गर्न सकिने प्रशासकीय अधिकृत पाण्डेको भनाइ छ।
बेरुजु पेश्की बेरुजु भएको र पेश्की फर्छ्यौट भए पश्चात् बेरुजु शून्य प्रतिशतमा झार्ने अभियानमा पालिका रहेको प्रशासकीय अधिकृत केशवराज पाण्डेले बताए ।
जगदुल्लाका अध्यक्ष नारासिं रोकायले बेरुजु शून्यमा झाने लक्ष्यका साथ गाउँपालिका अगाडि बढी रहेको जानकारी दिए । ‘आर्थिक पारदर्शीताका लागि हामीले नीति, नियम र निर्देशिका बनाएका छौ, सबैले पालना गर्दा बेरुजु शून्यमा झार्न सकिन्छ ।’ उनले भने ।
महालेखाले सार्वजनिक गरेको गत वर्षको प्रतिवेदनमा समेत जगदुल्ला गाउँपालिका जिल्लामै कम बेरुजु भएको स्थानीय तह बनेको थियो । यस वर्ष जगदुल्ला कर्णाली प्रदेशमै कम बेरुजु हुने स्थानीय तहमध्ये तेस्रो स्थानमा उक्लिएको छ ।

तपाईको प्रतिक्रिया