
पूर्ण चौलागाईं ।
जुम्लाको चन्दननाथ नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई आवश्यक सबै मात्रा खोप लगाइएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै नगर उपप्रमुख रामदेवि खड्काले नगरभित्रका सबै बालबालिकाले खोप प्राप्त गरेको बताइन । खोप लगाउन कोही पनि बालबालिका नछुटेका छन् र बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउनु पर्छ भन्ने विषयमा अभिभावकलाई समेत सचेतना प्रदान गरिएको नगर उपप्रमुख खड्काको भनाइ छ । खोपको महत्वबारे सबैले जानकारी राख्न आवश्यक रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्ला का प्रमुख किरण कुमार शर्माले बताए । खोपको पूरा मात्रा नलगाउँदा बालबालिकाको ज्यानसमेत जोखिममा पर्न सक्ने जनस्वास्थ्य सेवा कार्यालय प्रमुख शर्माको भनाइ छ ।
खोपको महत्वबारे महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायस्तरमा जनचेतना फैलाउने काम गरेको बताइएको छ ।
पूर्ण खोप सुनिश्चित गर्न भूमिका खेल्ने नगरपालिका भित्रका स्वास्थ्य संस्था तथा वडाहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको जनस्वास्थ्य निरीक्षक क्षेत्र बहादुर महत ले बताए । उहाँका अनुसार नगरपालिका भित्र कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित छैनन् । आगामी दिनमा खोपसम्बन्धी जनचेतना अझ व्यापक रूपमा सञ्चालन गरिने पनि बताइएको छ ।


हाम्रो कर्णाली । ३१ बैशाख २०८३, बिहीबार २२:१३