
जुम्ला ः जुम्लाका ८ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका सेवा प्रवाहसंगै भौतिक विकासमा फड्को मारेको छ । कर्णालीका ७९ वटै स्थानीय तहमै पहिलो जनप्रतिनिधि र कर्मचारीबीच कार्यसम्पादन सम्झौता गरेको थियो । बैशाख मसान्तसम्म पालिकाका सबै योजना निर्माण र भुक्तानी गरिसक्ने लक्ष्य अनुसार तातोपानीले भौतिक विकासमा फड्को मारेको हो ।
तातोपानी गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक अर्थात ८ महिनामा कुल पुँजीगत बजेटको २३ प्रतिशत खर्च गरेको छ । चालु आवको फागुन मसान्तसम्म पालिकाको विकास खर्च २३.५६ प्रतिशत भएको छ ।
तातोपानीमा चालु आवमा पुँजीगत तर्फ कुल २६ करोड ९२ लाख ३३ हजार २२५ रुपैया विनियोजन गरिएको थियो । जसमा ८ महिनामा ६ करोड ३४ लाख ३८ हजार ५०२ रुपैया अर्थात २३.५६ प्रतिशत वित्तिय प्रगती भएको तातोपानी गाउँपालिकाका लेखापाल शिवराज न्यौपानले बताए । उनका अनुसार चालु खर्च भने ४६ प्रतिशत भएको छ ।
मंगलबार सम्पन्न दोस्रो चौमासिक समिक्षा तथा सार्वजानिक सुनुवाईमा प्रस्तुत प्रगती प्रतिबेदन अनुसार तातोपानीले दोस्रो चौमासिकमै ६० प्रतिशतबढी योजना सम्पन्न गरेको छ । पालिकाका कुल १ सय ६२ वटा योजना रहेकोमा दोस्रो चौमासिक सम्म ६१ योजना सम्पन्न भईसकेको सव–ईन्जिनियर कृष्णहरि अधिकारीले बताए । उनका अनुसार सम्पन्न भएका ६१ योजना मध्य ३४ योजना भुक्तानी समेत भईसकेको छ । २७ योजना भुक्तानी प्रक्रियामा छन् ।
उनले भने, “योजनागत हिसाबमा ६० प्रतिशतबढी भौतिक प्रगती हासिल गरेका छौ । काम सम्पन्न भईसकेका तर उपभोक्ता भुक्तानी लिन नआएकोले पनि वित्तिय प्रगती काम देखिन सक्छ । तर जुन गत आव भन्दा धेरै बढीनै हो । तथापी,राष्ट्ति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका विद्यालय भवन निर्माण दुर्तगतीमा हुन सकेका छैनन् ।”
पुँजीगत खर्च बढाउन, असारे विकासको अन्त्य गर्न कार्यसम्पादन सम्झौता भएकोमा बैशाख मसान्तमै योजना निर्माण सक्ने उद्देश्य अनुरुप जनप्रतिनिधि,कर्मचारी सबै खटिँदा दोस्रो चौमासिकमा तातोपानीले भौतिक विकासमा जिल्लामै अब्बलता देखाएको तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए ।
उनले भने,“योजना सम्पन्न भएको तुलनामा भुक्तानी कम देखिन्छ । काम सम्पन्न भई अनुगमन समेत भईसकेका योजनाको भुक्तानी लिन उपभोक्ता नआउँदा विकास खर्च कम देखिएको हो । यदपी, नियमित भुक्तानीको काम भईरहेको छ । बैशाख सम्म योजना निर्माण र भुक्तानी सक्ने लक्ष्य अनुसारनै काम भईरहेको छ ।”
मंगलबार सम्पन्न तातोपानीको दोस्रो चौमासिक सार्वजानिक सुनुवाईमा नागरिक अगुवा, पत्रकार, दलहरुका प्रतिनिधिहरुले तातोपानीलाई समृद्ध बनाउन आबश्यकतामुखी योजना वितरण, अनुगमन निरिक्षण, छिटो छरितो सेवा प्रवाह गर्न र गुनासो सुनुवाईलाई प्रभावकारी बनाउन सुझाब दिएका छन् ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले भौतिक विकाससंगै पालिकाको सेवा प्रवाह, गुनासो सुनुवाई लगायतका कामलाई थप प्रभावकारी बनाईने प्रतिबद्धता गरे । सार्वजानिक सुनुवाईमा उठेका प्रश्न गुनासालाई आगामी नीतिमा समेटी संबोधन गरिने उल्लेख गरे ।
महिला शसक्तिकरण, उद्यमशीलता, न्याय सम्पादनको कार्यलाई प्रथामिकता दिएको उपाध्यक्ष रेवती रावलले बताइन् । पाँच वर्षमा महिला उद्यम शीलताका क्षेत्रमा उल्लेखीय कार्य हुने उनको दाबी छ । सूचनाको हकको प्रत्याभुति दिलाउन, सुशासन पारदर्शीता कायम गर्न र नागरिकका गुनासा सून्न रहेक चार महिनामा समिक्षा र सार्वजानिक सुनुवाई गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ कठायतले बताए ।




हाम्रो कर्णाली । ८ चैत्र २०७९, बुधबार १७:२१