
जुम्ला । जिल्ला समन्वय समितिबाट आयोजित एक औपचारिक कार्यक्रमका सभाध्यक्ष तथा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सार्वजनिक रूपमा पत्रकारलाई ‘ठेकेदार’ संज्ञा दिएको विषयलाई लिएर नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाले कडा आपत्ति जनाएको छ ।
मंसिर १९ गते समन्वय समितिको कार्यालयमा भएको कार्यक्रममा दिगो पोस्टका सम्पादक लोकेन्द्र राज गिरीले जिल्लास्थित विकास निर्माणको अनुगमन र परिणामहीनताका बारे प्रश्न गर्दा प्रमुख आचार्य आक्रोशित बनेका थिए । जवाफ दिनुको सट्टा विषयान्तर गर्दै पत्रकारहरूलाई नै ‘ठेकेदार’ भएको आरोप लगाएको महासंघले जनाएको छ ।
महासंघ जुम्लाले सार्वजनिक कार्यक्रम जस्तो संवेदनशील स्थानमा जिल्लाकै जिम्मेवार पदाधिकारीबाट आएको उक्त अभिव्यक्तिले पत्रकारको पेशागत मर्यादा र सुरक्षा माथि प्रत्यक्ष आघात पुगेको बताउँदै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
सार्वजनिक सुनुवाइ कार्यविधि २०६७ अनुसार सरकारी सेवा, विकास निर्माण तथा स्थानीय शासनमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धिका लागि तेस्रो पक्षद्वारा कार्यक्रम सञ्चालन गर्ने प्रावधान रहेको महासंघले स्मरण गराएको छ । सोही प्रावधानअनुसार सञ्चारगृहले सार्वजनिक सुनुवाइ गर्दै आएको भन्दै त्यसलाई ठेक्का शैलीमा सञ्चालन गरेको आरोप तथ्यहीन र नियोजित रहेको प्रतिक्रिया दिएको छ ।
महासंघ जुम्लाले प्रमुख आचार्यले दिएको अभिव्यक्तिले जनस्तरमा भ्रम फैलाउने काम मात्र गरेको भन्दै “पत्रकार ठेकेदार हुन्” भन्ने दाबी प्रमाणित गर्न चुनौती पनि दिएको छ ।
आगामी दिनमा सार्वजनिक कार्यक्रम होस् वा अन्य प्रसङ्ग, पत्रकारितासँग सम्बन्धित विषयमा तथ्यहीन, गैरजिम्मेवार अभिव्यक्ति नदिन सबै पक्षलाई महासंघका अध्यक्ष पुर्ण चौलागाईंले बिज्ञप्ति मार्फत आग्रह गरेका छन ।




हाम्रो कर्णाली । २० मंसिर २०८२, शनिबार २०:०१