जुम्लामा सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण

अर्जुन महतारा ।

जुम्ला,२२ असोज ः चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी, शाखा कार्यालय जुम्लाले संचालन गरिएको सुपथ मूल्य खाद्यान्नको पसलमा उपभोक्ताको आकर्षण बढेको छ ।

दैनिक उपभोग्य वस्तुमा दिइएको छुटका कारण यस्ता पसलमा उपभोक्ताको आकर्षण बढेको छ । खाद्यान्न अभावलाई कम गर्न उद्देश्यले संचालनमा ल्याएको दसैँ–तिहार लक्षित सुपथ मूल्यका पसलमा ग्राहकको आकर्षण बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, शाखा कार्यालय जुम्लाका सूचना अधिकारी श्रीराम ठाकुरले जानकारी दिनुभयो ।

गत भदौ ३० गतेदेखि खोलिएको सुपथ मूल्य पसलबाट झन्डै ७ सय क्विन्टल चामल बिक्री भएको भएको छ । आगामी कात्तिक १० गतेसम्मका लागि खोलिएको उक्त पसलमा एक हजार एक सय क्विन्टल चामल बेच्ने लक्ष्य रहेको थियो । कार्यालयका सूचना अधिकारी ठाकुरले भन्नुभयो,“ दुई साताको अवधिमा सात सय क्विन्टल चामल गइसकेको छ ।

 यहाँको गुठीचौर, पातारासी, तातोपानी र चन्दननाथ नगरपालिकाभित्रका उपभोक्ताले सबैभन्दा बढी चामल किनेका छन् । दैनिक अधिकतम ९० क्विन्टलसम्म चामल अहिले बिक्री भइरहेको छ । यो वर्ष जिल्लाका लागि ५ हजार क्विन्टल चामलको कोटा तोकिएको कार्यालयका सुचना अधिकारी ठाकुरको भनाइ छ । ”

अहिलेसम्म दुई हजार ५ सय क्विन्टल चामल कार्यालयमा आइपुगेको छ । बाँकी चामल आउने क्रममा रहेको छ । सुपथ मुल्यको पसलबाट प्रतिकेजी ५ रुपैयाँ छुट रहेको छ । अरुवा मोटा चामल, एफआर अरुवा मोटा,अरुवा मध्यम चामल,एफआर अरुवा सोना मन्सुली,स्टिम जिरा मसिनो चामल र एफआर स्टिम जिरा मसिनो चामल बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, शाखा कार्यालय जुम्लाले जनाएको छ ।

तपाईको प्रतिक्रिया