तिला– ८ लाई बालमैत्री तथा पोषणमैत्री वडा घोषणा

जुम्लाको तिला गाउँपालिका–८ लाई बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । विहीवार आयोजित विशेष कार्यक्रममा प्रतिनिधि सभाका निःवर्तमान सांसद् कान्तिका सेजुवाल, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य र तिला गाउँपाकिला अधयक्ष मोतीलाल रोकायाले वडालाई औपचारिक रुपमा बालमैत्री तथा पोषणमैत्री घोषणा गरेका हुन् ।
गाउँपालिका अध्यक्ष रोकायाले बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन प्रणालीलाई दिगो बनाउन सबै सरोकारवालाबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउँदै, यस अभियानले बालअधिकारको संरक्षण, आवश्यक लगानीको सुनिश्चितता तथा बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख बताउनुभयो । वडाले पोषणमैत्री वडा बन्नका लागि आवश्यक सम्पूर्ण सूचकहरू पूरा गरिसकेको छ । बालबालिका तथा आमाहरुको पोषणस्तर सुधार गर्ने, कुपोषणको समस्या न्यून पार्ने, सुरक्षित पिउने पानीको व्यवस्था गर्ने, सरसफाइ तथा व्यक्तिगत स्वच्छता प्रवर्धन गर्ने लगायतका महत्वपूर्ण सूचकहरूमा उल्लेखनीय प्रगति भएपछि पोषणमैत्री वडा घोषणा गरिएको छ । यसलाई दिर्घकालिन रुपमा कार्यान्वयनमा जोड दिन स्थानीय सरकारको काँधमा आएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख आचार्यको भनाइ छ ।


पोषणमैत्री वडा घोषणा गर्न आवश्यक पर्ने पूर्वाधार निर्माणदेखि नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनसम्म सबै क्षेत्रमा निरन्तर मेहनत गर्न आवश्यक रहेको छ । वडा भित्रका सबै बालबालिकाको अधिकारको सुनिश्चितता, विद्यालय जाने वातावरणको सिर्जना, बालश्रम न्यूनीकरण तथा बालमैत्री सेवा पहुँच विस्तारमा समेत विशेष ध्यान दिएर स्थानीय सरकारले काम गर्नुपर्ने प्रतिनिधि सभाका निःवर्तमान सांसद् सेजुवालले जानकारी दिनुभयो ।
बालमैत्री स्थानीय शासनअनुरुप आबश्यक सूचक पूरा भए नभएको अनुगमन गरिएको थियो । उक्त वडालाई पहिलो पटक पोषणमैत्री तथा बालमैत्री वडा बन्न सफल भई अन्य वडालाई पनि सकारात्मक प्रेरणा दिएको छ । गाउँपालिका सबै वडालाई क्रमश ः पोषण र बालमैत्री वडामा परिणत गर्ने योजना अघि बढाएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो ।
वडाध्यक्ष आसे बस्नेतका अनुसार वडाले बालमैत्री घोषणाका लागि आवश्यक ५१ सूचकहरु र पोषणमैत्री घोषणाका लागि आवश्यक सूचकहरु पूरा गरेको जानकारी दिनुभयो । ती सूचकहरुमा पाँच वर्ष मुनिका बालबालिकाको शत प्रतिशत जन्मदर्ता, विद्यालय उमेर समूहका सबै बालबालिकाको विद्यालय पहुँच, बालविवाहको शून्य दर, बालश्रममुक्त वातावरण, सबैले पूर्ण खोप प्राप्त गर्नु, पोषणयुक्त दिवा खाजा, छात्रवृत्ति वितरण, बालमैत्री कक्षाकोठा लगायतका कार्यहरु समावेश छन् ।
स्वास्थ्य चौकीबाट नियमित मातृ तथा शिशु सेवा, किशोरी लक्षित महिनावारी शिक्षा, पोषण स्थिति परीक्षण लगायत कार्यक्रमहरु पनि नियमित संचालन हुँदै आएका छन् । पोषणमैत्री स्थानीय तह कार्यान्वयन निर्देशिका २०७८ अन्तर्गतका सबै सूचकहरु पूरा गरिएकाले पोषणमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
उक्त अभियानमा किर्डाक नेपाल तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको  सहकार्यमा भएको हो । उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, आमा समूह, बाल क्लब तथा स्थानीय नागरिकको उल्लेखनीय उपस्थिति रहेको वडा सचिव खड्ग बहादुर रावतले बताउनुभयो  ।
कार्यक्रमको अन्त्यमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि कुनै पनि परिस्थितिमा निरन्तर प्रयासरत रहने संकल्पका साथ हस्ताक्षर गरिएको वडा कार्यालयले जनाएको छ ।




तपाईको प्रतिक्रिया