४ दिनदेखि बन्द कर्णाली राजमार्ग खुल्यो,

पूर्ण चौलागाईं जुम्ला।
४ दिनदेखि बन्द भएको कर्णाली राजमार्ग आज खुलेको छ ।अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग बन्द भएको हो । भदौ १४ गते विहान ९ बजेदेखी अबरुद्ध भएको राजमार्ग मंगलबारदिउँसो १२ः४५ बजेदेखी संचालनमा आएको हो ।
चारदिनपछि सडक सुचारु भएपछि रोकिएका स्याउ बोकेका ट्रक सुर्खेत नेपालगन्ज तर्फ गएका छन् । चार दिनदेखी सकड अबरुद्ध भएपछि २३ वटा ट्रक सडकमै अलपत्र परेका थिए । झण्डै १३ करोड बढीको १८४ मेट्रिकटन स्याउ बोकेका २३ वटा ट्रक चार दिनसम्म बाटोमै रोकिएका थिए ।
कर्णाली राजमार्गको गगने खोलामा भदौ १४ गते विहान ढुंगा सहितको भिषण पहिरो आएपछि राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको थियो । बे्रकर लगाएर ढुंगा फोड्ने प्रयास गरेपनि सम्भव नभएपछि ब्लाष्ट गरिएको थियो । मंगलबार नेपाली सेनाले चार पटक सम्म ब्लाष्ट गर्दा समेत ढुंगा नफुटेको र वर्षात जारी रहेकाले लेदो पहिरो आउने सक्ने जोखिमलाई मध्यनजर गरी काम रोकिएको थियो ।
सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले कालिकोट प्रहरी प्रशासन तथा नेपाली सेनाको सहयोगमा सडकका सबै जनशक्ति परिचालन गरेर सडक संचालनमा आएको बताए । मौसम प्रतिकुलता,भौगोलिक कठिनाई, स्रोत साधनको अभाव लगायतका कारणले सडक चाडो खुलाउन नसकिएको उनको भनाई छ ।




तपाईको प्रतिक्रिया