पूर्ण चौलागाइ।
जुम्लामा अग्नि नियन्त्रण सम्बन्धि तिन दिने तालिमको आज उद्घाटन भएको छ ।नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय जुम्लाको आर्थिक सहयोग र चन्दननाथ नगरपालिका जुम्लाको सहकार्यमा सो तालिम संचालन भएको हो। तालिममा जम्मा २६ जना सहभागी रहेका छन् ।
रेडक्रस सोसाइटीका केन्द्रिय कोषाध्यक्ष तथा जुम्ला शाखा सभापति लोकदर्शन श्रेष्ठका अनुसार जुम्लामा पछिल्ला वर्षहरुमा लाग्ने आगलागीका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नु परेको बताउँदै दक्ष जनशक्ति अभाव नै मुख्य समस्या भएको उल्लेख गरे । “तालिमप्राप्त र दक्ष जनशक्ति नहुँदा धेरै समस्या भएको हो, आगामी दिनमा त्यस्तो अवस्था नआओस् भनेर यस्ता कार्यक्रमहरु अपरिहार्य छन्,” उनले भने ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि चन्दननाथ नगरपालिका प्रमुख राजुसिह कठायतले अब जुम्लामा आगलागी नियन्त्रणका लागि दक्ष जनशक्ति उत्पादन हुने भएकाले नगरपालिकाले राहत महसुस गर्ने बताए । उनले गत वर्ष मात्रै नगरपालिकाले ठूलो क्षति बेहोर्नु परेको स्मरण गर्दै जनशक्ति अभावका कारण समस्या भएको बताए ।
तीन दिनसम्म चल्ने यस तालिममा आगलागी नियन्त्रण गर्ने तरिका, आवश्यक सामग्रीहरूको प्रयोग विधि लगायतका विषयमा व्यावहारिक अभ्याससमेत हुने आयोजकले जनाएका छन् ।




हाम्रो कर्णाली । १३ भाद्र २०८२, शुक्रबार १७:१०