
पूर्ण चौलागाईं ।
जुम्लाको तातोपानी गाउँपालिकामा गुणस्तरहीन गड्यौला मल वितरण गरिएको छ। आर्थिक वर्ष २०८१/०८२ मा जनतासंग उपाध्यक्ष कार्यक्रम अन्तर्गत किसानलाई मल वितरण गरिएको हो।
मल चितवन स्थित दिब्या अर्गानिक फटिलाइजर कम्पनी प्रा.लि. ले उपलब्ध गरेको थियो। उक्त कम्पनिले लामो समयदेखी जुम्लामा थन्किएको गुणस्तरहिन मल बितरण गरेको पाइएको छ। २०८२ साउन ७ गते कम्पनीले रातो माटो जस्तो गुणस्तरहिन मल वितरण गरेपछी तातोपानीका किसान आक्रोसित भएका छन् ।
जुम्लामा उक्त कम्पनीको सम्पर्क ब्यक्ति भैरव कठायतले सो मल २ बर्षदेखि तातोपानीगाउँपालिका नजिक स्टोर गरि राखेको बताए । दिब्या अर्गानिक फटिलाइजर कम्पनी प्रा.लि. का संचालक नरेन्द्र गिरिसंग चिनजान भएकोले आफुले सहयोग गरेको कठायतको भनाइ छ।
उता कम्पनीका संचालक नरेन्द्र गिरिले २०७४ सालमा कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसंग चिनजान भएपछि चिनजानकै आधारमा जुम्लामा १ लाख किलोग्राम गड्यौला मल पठाएको बताए । लामो समय राख्दा पनि मल गुणस्तरहिन नहुने तर हावा र पानी छिरेपछी मलले खासै काम नगर्ने कम्पनीका संचालक गिरिको भनाइ छ।

यता लामो समयदेखि स्टोर गरि राखियको मलको बोरा फुटेपछी कम्पनीको नामनै फरक भएको चितवन अर्गानिक फटिलाइजर कम्पनीको बोरामा गुणस्तरहिन मल भरी किसानलाई वितरण गरिएको किसानको भनाइ छ।

२५ किलोग्रामका ३ सय ५५ बोरा मल वितरण गरिएको छ। सो मलको पालिकाले दिब्या अर्गानिक फटिलाइजर कम्पनीलाई ३ लाख १५ हजार रुपैयाँ भुक्तानी गरेको छ।
उपाध्यक्ष रेवती रावलले आफ्नो कोषबाट तातोपानीका किसानलाई मल वितरण गरि कृषि उत्पादनमा टेवा पुर्याउने हेतुले मल वितरण गर्न खोजिएको तर कम्पनीले बदमासी गरेर किसानलाई झुक्याउने गरेकोप्रती दुख व्यक्त गरिन।
प्रयोगशालामा उक्त मलको ल्याब परिक्षण गराउने र परिक्षणबाट गुणस्तरहिन मल वितरण गरेको भेटियमा उक्त कम्पनीलाई कानुनी दायरामा ल्याउने पालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए ।
जुम्लामा लामो समयदेखी थन्किएको गुणस्तरहिन मल बितरणमा सो कम्पनीको मुख्य सम्पर्क ब्यक्ति को भन्ने बारे रहस्यमय बन्दै गरेको छ।




हाम्रो कर्णाली । ८ श्रावण २०८२, बिहीबार २१:०८