हिमा गाउँपालिका नेपालकै दोस्रो बालविवाह मुक्त घोषणा

पूर्ण चौलागाईं ।
जुम्लाको हिमा गाउँपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरिएको छ । हिमा कर्णालीको पहिलो र नेपालकै दोस्रो बालविवाह मुक्त पालिका घोषणा भएको हो।कर्णाली प्रदेशका सबै स्थानीय तहमध्ये हिमा गाउँ पालिका पहिलो पालिकाका रुपमा बालविवाह मुक्त घोषणा भएको छ ।
आइतबार एक समारोहका बीच नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साह सुडीद्वारा हिमा गाउँपालिका बालविवाह मुक्त घोषणा भएको हो ।
घोषणापछि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री साहले
दुर्गम हिमाको सामाजिक तथा भौतिक विकासका लागि आफ्नो मन्त्रालय र वर्तमान सरकारले भरपुर सहयोग गर्ने बताए ।
मन्त्री साहले हिमा गाउँपालिका कर्णालीकै पहिलो र देशको दोस्रो पालिकाका रुपमा बालविवाह मुक्त घोषणा हुनु सुखद पक्ष भएको बताए ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमाले सामाजिक विकासमा समेत फड्को मारेको र सामाजिक बिकास बिना सभ्य समाजको परिकल्पना गर्न नसकिने बताए । भौतिक बिकासको साथै सामाजिक कुरिती ,कुसंस्कार ,बिकृती र कुप्रथा विरुद्ध हिमा सरकारको अभियान रहेको अध्यक्ष शाहीको भनाइ छ।
हिमामा दुई वर्षको अवधिमा करिब डेढ सय जोडीले विवाह गरेको,ती सबै २० वर्ष माथिका रहेको सुनिश्चित भएपछि पालिकालाइ बालबिबाह मुक्त पालिका घोषण गरिएको हो। हिमाका सातै वडामा गरिएका बिहे गर्ने जोडीहरू सबैले २० वर्ष पूरा गरेको भेटिएको महिला तथा बालबालिका शाखा प्रमुख राज्य लक्ष्मी रावलले बताइन् ।




तपाईको प्रतिक्रिया