
पूर्ण चौलागाईं ।
जुम्लाका सिंजाबासीले मालपोत र नापीको सेवाको लागी अबदेखि जुम्ला सदरमुकाम धाउन नपर्ने भएको छ।
सिंजा क्षेत्रका तीन पालिकाका नागरिकलाई लक्षित गरि सिंजा गाउँपालिकाकाे नराकाेटमा नापी र मालपाेत कार्यालय उद्घाटन गरिएकाे छ । सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिककलाई घर आँगनमै सेवा प्रवाह गर्ने गरि नराकाेटबाट नापी र मालपाेत कार्यालय उद्घाटन गरि सेवा सुचारु गरिएकाे हाे ।
भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबार नराकाेटमा स्थापना गरिएकाे नापी र मालपाेत कार्यालयकाे उद्घाटन गरेका छन् ।नापी र मालपाेत सेवाका लागि महंगाे खर्च व्यहाेरेर सदरमुकाम जान बाध्य घर आँगनमै मालपाेत र नापी कार्यालय स्थापना भएपछि सिंजाबासी खुसी भएका छन् ।
सिंजामा नापी र मालपाेत कार्यालय स्थापना गर्ने सरकारकाे निर्णयले ऐतिहासिक सिंजा क्षेत्रले आर्थिक र प्रशासनिक रुपमा ठूलो सफलता हात पारेको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताए । उनका अनुसार कार्यालयकाे दिगाे व्यवस्थापन तथा प्रभावकारी सेवा प्रवाहमा आबश्यक सहयाेग गरिने छ ।
जग्गा खरिद,नामसारी,राजिनामा लगायतका काम गर्न महंगाे खर्च गरेर सदरमुकाम धाउनु पर्ने समस्या आजदेखी समाधान भएको सिंजा गाउपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए ।




हाम्रो कर्णाली । २२ चैत्र २०८१, शुक्रबार २१:४८