
पूर्ण चौलागाईँ।
डिभिजन वन कार्यालय जुम्लाले सात महिनामै एक करोड बढी राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष २०८१। ८२ काे साउनदेखि माघसम्म विभिन्न राजस्व शिर्षक अन्तर्गत एक करोड २० लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । सबैभन्दा धेरै वन क्षेत्रको राेयल्टी र जडिबुटी संकलनबाट सो राजस्व उठेको छ।
जिल्लाका आठवटै स्थानीय तहमा करिब सामुदायिक वन २०६ वटा,कबुलियत वन १२७ वटा, निजी वन ६ र सरकारद्वारा व्यवस्थित वन १ लाख ३३ हजार १७२ हेक्टर क्षेत्रफलमा रहेको जिल्ला वन कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापाले जानकारी दिए।
यो आबमा कार्यालयमा चालू र पुजीगत र संघीय सशर्त अनुदान गरि ११ कराेड ५८ लाख बजेट विनियोजन भएको छ । कार्यालयलाई आवश्यक स्वीकृत दरबन्दी ४४ मध्ये पदपूर्ति दरबन्दी ३८ रहेको छ। अहिले रित्त दरबन्दी ६ रहेको । कर्मचारी अभावले कार्य सम्पादनमा असर परेको जिल्ला वन कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाई छ । बिहीबार भएको जिल्लाका सराेकारवालाहरुकाे समन्वय बैठकबाट वन सम्बन्धि ७ वटा निर्णय भएको जिल्ला वन कार्यालय जुम्लाले जनाएको छ।
यस्ता छन् निर्णय भएका विषयहरु
१. वन क्षेत्रमा भएको अतिक्रमण हटाउन सम्बन्धित सरोकारवालाहरुसंग समन्वय गरी अतिक्रमित क्षेत्रको लगत तयार गरेर क्रमिक रुपमा अतिक्रमण हटाउने, वन डढेलो नियन्त्रण तथा रोकथामका क्रियाकलपाहरु सक्रिय रुपमा अघि बढाउने, वन पैदावार र वन्यजन्तुको चोरी शिकारी नियन्त्रण गरी वनजन्य अपराधको रोकथाम गर्ने।
२. ओखरको ईरो, देवदारको तेल र ढटेलोको तेलको राजस्व वन नियमावलीमा समावेश गराउन प्रदेश वन निर्देशनालयमा लेखि पठाउने।
३. जुम्ला जिल्लामा प्रचलित कानून बमोजिम दर्ता भई संचालनमा रहेका वन पैदावारमा आधारीत उद्योगहरुको प्रभावकारी अनुगमन गर्ने।
४. धूपी, भोजपत्र लयागतका वन पैदावारहरुको अव्यवस्थित संकलन कार्य रोकि यसको दिगो व्यवस्थापनमा जोड दिने।
५. वातावरणीय अध्ययन गर्नुपर्ने आयोजनाहरुको आयोजना कार्यान्वयन गर्ने सरोकारवाला निकायहरुले वातावरणीय अध्ययन गरेर मात्र कार्यान्वयन गर्ने।
६. सामुदायिक वनहरुलाई पारदर्शि र जवाफदेही बनाउन डिभिजन वन कार्यालय, जुम्लाले प्रभावकारी भूमिका निर्वाह गर्ने।
७. वन क्षेत्रको संरक्षण र व्यवस्थापनको लागि स्थानिय तह, सामुदायमा आधारीत वन संरक्षण समुहरु र सरोकारवाला निकायहरु बीच निरन्तर समन्वय गर्ने।




हाम्रो कर्णाली । २२ फाल्गुन २०८१, बिहीबार १७:५२