कर्णाली प्रदेशमा तहविहिन कर्मचारीहरूको समस्याबारे संशोधन प्रस्ताव पेश

अर्जुन महतारा जुम्ला।
कर्णाली प्रदेशमा समायोजन ऐन, २०७५ अन्तर्गत समायोजन गरिएका साविकका जिल्ला विकास समिति, गाउँ विकास समिति र नगरपालिकामा कार्यरत तहविहिन कर्मचारीहरूको स्तरवृद्धि र सेवा सुविधाका विषयमा असन्तुष्टि व्यक्त भएको छ। हाल कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय तह सञ्चालन ऐन, २०८१ को केही प्रावधानले तहविहिन कर्मचारीहरूको मनोबल गिराएको भन्दै उनीहरूका संगठनहरूले आवाज उठाएका छन्।
सो ऐनको दफा २६ (३) मा स्तरवृद्धिको व्यवस्था छ भने दफा २८ मा पाँच वर्ष सेवा अवधि पूरा गरेका र सेकेण्डरी एजुकेशन एक्जामिनेशन (एसईई) वा सो सरह उत्तीर्ण तहविहिन कर्मचारीहरूलाई सहायक स्तर चौथो तहमा बढुवाको मार्गप्रशस्त गर्ने व्यवस्था गरिएको छ। यद्यपि, ऐनको दफा ९ को उपदफा (१) अन्तर्गत सहायक स्तर चौथो तहको पदपूर्तिका लागि मापदण्ड र प्रतिशत न्यून राखिएको र यस विषयमा कुनै विस्तृत व्याख्या नभएको कारण तहविहिन कर्मचारीहरू असन्तुष्ट बनेका छन्।
यसै सन्दर्भमा, गत पुस २८ गते जुम्ला जिल्लाका स्थानीय तहमा कार्यरत विभिन्न राजनीतिक दल निकट कर्मचारी संगठन, संघ र युनियनहरूको संयुक्त भेलाले ऐनका प्रावधानहरूको समीक्षा गरी संशोधनका लागि पहल गर्ने निर्णय गरेको छ। भेलामा सहभागी कर्मचारीहरूले ऐनमा आवश्यक स्पष्टता र सुधार ल्याउन प्रदेश सरकारसँग आग्रह गरेका छन्।
संयुक्त भेलाले ऐनको दफा ९ को उपदफा (१) को (ख) मा पदपूर्तिको प्रतिशत बढाउन माग गरेको छ। यस अनुसार, जेष्ठताको आधारमा १० प्रतिशत र कार्यसम्पादन मूल्याङ्कनका आधारमा १० प्रतिशत गरी कुल २० प्रतिशत बढुवा व्यवस्था गर्न प्रस्ताव गरिएको छ। यस्तै, तहविहिन कर्मचारीहरूको मर्का समेट्न ऐन र नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने धारणा भेलाले अघि सारेको छ।
भेलामा गरिएको छलफलका आधारमा माघ ६ गते कर्णाली प्रदेशका सम्पूर्ण क्रियाशील राजनीतिक दलका प्रमुख सचेतकहरू समक्ष संशोधन प्रस्ताव पेश गरिएको छ। प्रस्तावमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका कर्मचारीहरूको साझा समस्यालाई सम्बोधन गर्न ऐनमा स्पष्ट प्रावधान समेट्न प्रदेश सरकारलाई अनुरोध गरिएको छ।


तहविहिन कर्मचारीहरूको समुचित व्यवस्थापन र अधिकार प्रत्याभूतिका लागि गरिएको यो पहलले प्रदेश सरकारको ध्यानाकर्षण गर्ने अपेक्षा गरिएको छ। कर्मचारी संगठनहरूले ऐन संशोधन नभए थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएका छन्।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...