जिल्ला प्रहरी कार्यालय जुम्लाद्वारा नागरिक सुनुवाइ कार्यक्रम

पूर्ण चौलागाईँ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८०/८१ को नागरिक सुनुवाइ कार्यक्रम गरेको छ। नागरिक सुनुवाइ कार्यक्रममा कार्यालयले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो।
अनुसन्धान, नियन्त्रण, सामाजिक सचेतना, र नागरिक सेवामा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदी लाल कामतीले बताए।
चालु आवमा ६७ वटा मुद्दा दर्ता भएकोमा ३७ वटा मुद्दा फर्छ्यौट गरिएका छन् भने ३० वटा मुद्दा बाँकी रहेका छन्। यस अवधिमा ५९ जना अभियुक्त पक्राउ गरिएको छ, जबकि ३७ जना फरार छन्।
लागू औषधसम्बन्धी मुद्दामा १४ वटा दर्ता भएकोमा ३१ जना व्यक्तिलाई संलग्न देखिएको छ। तीमध्ये २३ जना पक्राउ परेका छन् भने ८ जना अझै फरार छन्। लागू औषध बरामद गरिएकोमा ब्राउन सुगर ४०९१ मिलिग्राम, ट्रामाडोल २० ट्याबलेट, चरेश २७४५० मिलिग्राम रहेको छ।
महिला सेलमा ३५ वटा निवेदन दर्ता भएका थिए। तीमध्ये ३१ निवेदन फर्छ्यौट गरिएको छ, जबकि ४ निवेदन बाँकी छन्। साथै, अपराधमा संलग्न महिलाहरूमाथि ७ वर्ष ७ महिना १७ दिन कैद र रु. १,१८,४५२ जरिवाना तोकिएको छ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयले सामाजिक सचेतना अभिवृद्धिका लागि ४०२ कार्यक्रम आयोजना गर्ने लक्ष्य राखेकोमा २७२ कार्यक्रम श्रावणदेखि आश्विनसम्म र बाँकी १३० कार्यक्रम हालसम्म सम्पन्न गरिसकेको छ।
हराएको/चोरी भएका सामग्री सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने कार्यमा उल्लेखनीय सफलता हासिल भएको नागरिक सुनुवाइ कार्यक्रममा सार्वजनिक गरिएको थियोे। जसमा १३ वटा मोटरसाइकल, १७ वटा मोबाइल फोन र केही थान ल्यापटप रहेका छन्।
प्रहरीका अनुसार चालु आवमा विभिन्न अवैध गतिविधिमा प्रयोग भएका हातहतियार र सामान रहेका छन्। हातहतियार: ५ थान रहेका छन्। जसमा एसलएआर, बन्दुक, कटुवा पिस्तोल र भरुवा बन्दुक रहेका छन्। त्यस्तै २० राउण्ड गोली र दुई थान एसएसआरको म्यागजिन २ थान रहेका छन्।
अवैध जडिबुटी नियन्त्रणतर्फ, यार्सा १७० ग्राम, वन लसुन ४०० ग्राम (अन्दाजी मूल्य रु. ४,२५,०००), र इलेक्ट्रिक तराजु १ थान बरामद गरिएको छ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयले अवैध काठ तस्करी नियन्त्रणतर्फ २७.०४ क्यूबिक मिटर काठ बरामद गरेको छ। यसका साथै, हिउँ चितुवाको बच्चा जस्ता दुर्लभ जनावरको उद्धारमा पनि संलग्न रहेको छ।
जुम्ला प्रहरी कार्यालयले सुरक्षा र शान्तिको प्रत्याभूति दिलाउनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। नागरिक सुनुवाई कार्यक्रम मार्फत स्थानीय जनता र सरोकारवालासँग प्रत्यक्ष संवाद गर्दै नागरिक सुरक्षाको क्षेत्रमा थप प्रगति गर्ने प्रतिबद्धता जनाएको छ।




तपाईको प्रतिक्रिया