
पूर्ण चौलागाईँ।
जुम्लामा पहिलो पटक माओत्सेतुङबारे संवाद कार्यक्रम सम्पन्न गरिएको छ।माओत्सेतुङको १३२ औं जन्मजयन्तीको अवसरमा पहिलो पटक जुम्लामा माओ विचारको मन्थन गरिएको हो। ज्ञान मञ्जरी मञ्चद्वारा सो कार्यक्रम आयोजना गरिएको शृंखला संवाद कार्यक्रम माओत्सेतुङको विचारधारा र त्यसको प्रभावमाथि आधारित थियो।
माओले माक्र्सवादी र लेनिनवादी सिद्धान्तलाई सैनिक रणनीतिसँग जोडेर विकास गरेको विचारधारालाई माओवादको नामले चिनिन्छ। यसले चीनमा मात्रै नभई विश्वभरका क्रान्तिकारी आन्दोलनहरूमा गहिरो प्रभाव पारेको छ।
जुम्लामा आयोजित संवाद कार्यक्रममा माओका विचारलाई विभिन्न कोणबाट समिक्षा गरियो। वामपन्थी नेताहरूले देश, काल र परिस्थिति अनुसार माओका विचारहरूलाई नेपालमा प्रयोग गरिएको विषयमा आफ्नो दृष्टिकोण राखे।
बामपन्थी अगुवा रामकृष्ण बुढथापाका अनुसार, माओले विशेष गरी किसानहरूको अध्ययन गरी सोसित र पीडितहरूको पक्षमा काम गर्न जोड दिएका थिए।
कार्यक्रमकि अर्की वक्ता लक्ष्मीकन्या बुढाले माओका विचारहरूको प्रयोग नेपाली जनयुद्धमा बढी भएको बताइन्। महिलाको समानता, अधिकार र जनयुद्धमा उनीहरूको योगदानबारे चर्चा गर्दै, बुढाले माओवादी आन्दोलनमा महिलाहरूको उल्लेखनीय भूमिका औंल्याइन्।

कार्यक्रमका अर्का वक्ताका रुपमा रहेका टेकबहादुर रोकायाले माओका विचारहरूलाई नेपालको वामपन्थी आन्दोलनहरूले पूर्ण रूपमा कार्यान्वयन नगरेको उल्लेख गरे। कार्यक्रममा सहभागीहरुले यस्ता कार्यक्रम फलदायी हुने हुँदा निरन्तर आयोजना गर्नु पर्ने कुरामा जोड दिएका थिए।
उक्त कार्यक्रमको सहजीकरण लोकेन्द्र राज गिरीले गरेका थिए।




हाम्रो कर्णाली । १३ पुष २०८१, शनिबार २१:०८