पूर्ण चौलागाईँ।
जुम्लाको पातारासी गाउँपालिकाका दुई वडामा सचेतनामुलक कार्यक्रम प्रदर्शन गरिएको छ। बालविवाह र घरेलुहिंसा न्यूनिकरण सम्वन्धी सडक नाटक प्रदर्शन गरिएको हो ।
गाउँपालिकाको १ र २ नम्बर वडाका गाउँबस्तीमा सडक नाटकमार्फत बालविवाह र घरेलुहिंसा सम्वन्धी सन्देश प्रवाह गरिएको सर्बाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले बताए। सडक नाटकमार्फत बालविवाह र घरेलुहिंसा न्यूनिकरण गर्न सहज हुने भएकोले नाटक मार्फत सन्देश प्रवाह गरिएको कार्यकारी निर्देशक खत्रीको भनाइ छ।
सानै उमेरमा प्रजनन् अंक परिपक्क नहुदै विवाह हुने, बच्चा जन्माउने, गाउँघरमा धेरै भारी काम गर्ने, पाठेघरमा समस्या देखिने, पुरुषले घर परिवार महिलाको काममा नसघाउने, मदिरा सेवन गर्ने कुटपिट घरेलुहिंसा गर्ने जस्ता समस्या सडक नाटकमार्फत देखिएको थियो ।गाउँघरमा बालविवाह र घरेलुहिंसा जस्ता समस्या देखिएपछि कानुनी कारवाहीका लागि प्रहरीमा उजुरी गर्ने, कानुनी कारवाही गर्ने कुरा सडक नाटकमार्फत सन्देश प्रवाह गरिएको थियो । बालविवाह गर्दा तीन वर्ष कैद र ३० हजार रुपियाँ जरीवाना हुने पनि कानुनी प्रावधान रहेको नाटकमार्फत सचेतीकरण गरिएको सर्बाेदय नेपाल जुम्लाकी सामाजिक परिचालक रेविका सुनारले बताइन् ।
यस्तै वडा नम्बर २ को वडाकार्यालयको प्राङ्गणमा स्थानीय महिलाले सोही बिषयमा देउडा गीत प्रस्तुति गरेका थिए । छुईप्रथा, बालविवाह, घरेलुहिंसा सम्वन्धी सन्देश प्रवाह गर्ने गरी महिलाले देउडा प्रस्तुति गरेका हुन् । ११ वटा महिला समुहले देउडा प्रस्तुति गरेका थिए।
फेमि (femi) काे आर्थिक सहयोग र सर्वोदय नेपाल जुम्लाको आयोजनामा उक्त कार्यक्रम प्रदशनी गरिएको हो।