तिलामा काँचो स्याउ रोक्न सिफारिस अनिवार्य

विजय रावत,
जुम्ला । जुम्लाको तिला गाउँपालिकाले काँचो स्याउ रोक्नका लागि वडा र कृषि शाखाको सिफारिस अनिवार्य गरेको छ । काँचो स्याउ बजारमा जान नदिनका लागि पालिकाले रोकथाममा कडाइसाथ चासो देखाएको छ । आज बसेको कार्यपालिकाको निर्णय अनुसार पालिकाका नौवटै वडामा उत्पादन भएका सुर्खेत,नेपालगंज,काठमाडौं,अर्थात् बाहिरी जिल्लामा लिनका लागि भदौ महिनाको ५ गते भन्दा अगाडि निकासी गर्न नदिने निर्णय भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो ।
स्याउ परिपक्व भएपछि मात्रै बजारमा लिनका लागि व्यापारीले वडाको र कृषि शाखाको सिफारिस अनिवार्य गरिएको छ । गतवर्ष काँचो स्याउ साउन महिना को पहिलो सातामै सुर्खेतमा पुगेपछि जिल्लाको स्याउको गुणस्तरीयतामा प्रश्न उठेको थियो । स्याउ राम्रोसँग परिपक्व भएपछि मात्रै टिप्न यहाँका स्याउ किसान र स्थानीयवासिलाई सार्वजनिक सुचना मार्फत निर्देशन दिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।
काँचो स्याउको बिक्रीलाई रोक्नका लागि वडा र कृषि शाखाको सिफारिस अनिवार्य गरिएको छ । उक्त सिफारिस बिन निर्यात गर्न नपाइने निर्णय भएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो ।
पूर्णरुपमा पाकेको, परिक्व भएको, रङ, गुलियो भरिएको स्याउ,कृषि प्राविधि, पालिकाकोे कृषि शाखाको सिफारिसका आधारमा मात्र स्याउ निर्यात गर्ने व्यापारीलाई सार्वजनिक सुचाना मार्फत जानकारी गरेको तिला गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जंग बहादुर बस्नेतले जानकारी दिनुभयो । काँचो स्याउ बजारमा ल्याउने व्यापारीलाई कानुनअनुसार कार्वाही गरिने तिला गाउँपालिकाले जनाएको छ । जिल्लामा अहिले करिब ४ हजार २५० हेक्टरमा स्याउ खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...