जुम्ला । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले आर्थिक वर्ष २०८०।८१ मा संचालित स्वास्थ्य कार्यक्रमको बार्षिक कार्यप्रगति सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला स्थित पत्रकारहरुलाई स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रममा कार्यालयले गरेका स्वास्थ्य क्षेत्रका कामको जानकारी दिँदै जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको संख्या १७ प्रतिशत रहेको छ ।
पहिलो पटक गर्भवती जाँच गरेकामध्ये २० वर्षमुनिका किशोरीको प्रतिशत पालिकागत रुपमा हेर्दा चन्दननाथ नगरपालिकामा १३ प्रतिशत ,तिला गाउँपालिकामा २२ प्रतिशत,तातोपानीमा २० प्रतिशत गुठिचौरमा ३३ प्रतिशत,पातारासीमा २४ प्रतिशत किशोरी २० वर्ष नपुग्दै विवाह गरेका छन् ।” त्यस्तै कनकासुन्दारी गाउँपालिकामा २० प्रतिशत,हिमामा १७ प्रतिशत र सिंजा गाउँपालिकामा १५ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
कार्यालयले कुष्ठरोग नियन्त्रण कार्यक्रमलाई स्थानीय तहसंग सहकार्य गरेर प्रभावकारी रुपमा संचालन गर्दे आएको छ । जिल्लामा दुई दशमलव पाँच प्रतिशत कृष्ठरोगीका विरामी रहेकाछन् । खोप कार्यक्रमबाट जिल्लाका ७८ दशमलव २ प्रतिशत बालबालिका खोपको पहुँचमा पुगेकाछन् । चार पटक गर्भजाँच गर्ने र संस्थागत प्रसुतीदर जिल्लामा ५९ दशमलव ९ प्रतिशत छ । यहाँका आठवटै पालिकाको संस्थागत प्रसुती भएकामध्ये २० वर्षमुनिका किशोरीको पन्ध दशमलव सात प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका स्वास्थ्य सहायक सुरेश पन्तले जानकारी दिनुभयो ।
जिल्लामा अस्पाल एक,प्रथामिक स्वास्थ्य सेवा केन्द्र एक,स्वास्थ्य चौकी २९, आधारभूत स्वास्थ्य सेवा केन्द्र २९,सामुदायिक स्वस्थ्य ईकाइ १२,शहरी स्वास्थ्य केन्द्र एक रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।
कार्यालयले आमा सुरक्षा कार्यक्रम,परिवार योजना कार्यक्रम,प्रजनन स्वास्थ्य,किशोर किशोरी प्रजनन स्वास्थ्य र महिनावरी स्वच्छता कार्यक्रमका लागि प्रदेश र स्थानीय तहसंग समन्वय सहकार्य गरेर कार्यालयले काम गर्दे आएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सिनियर अनमी मोर्चा शाहीको भनाइ छ । विजय रावत