पश्चिम नेपालमा खडेरी,रोपेको धान खेतमा धाँजा फाट्यो

 

 


धनगढी । असार पहिलो सातासम्म पनि मनसुनी वर्षा नहुँदा पश्चिम नेपालका कतिपय पानीका मुहान सुक्न थालेका छन् ।
हिउँदमा पनि कम पानी परेको यहाँ लामो खडेरीले पानीका मुहान सुक्दै जान थालेका हुन् । कैलालीको कैलारी गाउँपालिका ( देवीगञ्जका जञ्जीरु चौधरीले भूमिगत जल सतहको मात्रा घटेको बताए ।

नल्का र बोरिङबाट थोरै पानी आउन थालेको बताउँदै उनले यहाँ बग्ने नदी नालाका पानी पनि सुकेकेपछि खेतीपाती गर्न मात्रै होइन, बस्तुभाउलाई खुवाउन पनि समस्या भएको सुनाए ।
यहाँका बह्रौमास बग्ने मोहना, घुराहा, कटैनी, खुटिया, कान्द्रा, पथरैयालगायत नदीको पानी सुक्न थालेका छन् । साथै भूमिगत जलको रिचार्जको माध्यमको रुपमा रहेका तालतलैया समेत सुकेका छन् । केही साताअघि मात्रै कहिल्यै नसुक्ने धनगढी उपमहानगर क्षेत्रकै ठूलो जाखोर ताल सुकेको धनगढी उपमहानगरपालिका ७ का स्थानीय नन्दलाल रानाले बताए ।

अझै केही साता पानी नपरे पानीको हाहाकार भई विकराल अवस्था सिर्जना हुने स्थानीय बताउँछन् । अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको बेला बर्खे धान खेतीको तयारीमा रहेका किसानहरू अझै चिन्तित बनेका छन् । रोप्नलाई धानको बेर्ना ठिक्क भएपनि पानी नपर्दा किसानहरू अकाश हेरेर दिन कटाउनुपर्ने विवशता थपिएको हो । कैलालीको कैलारी गाउँपालिका ८ टेढीका किसान भागवानदास चौधरीले एक साताअघि मात्रै बोरिङले सिँचाइ हुने करिब एक विघा जमिनमा रोपाइ गरे ।

तर पानी नपर्दा र अत्यधिक गर्मीले उनले रोपेको धान खेतमा ठुला–ठुला धाँजा फाटेको छ । भने, रोपेको धान पनि मर्न लागेको बताए । रोपेको धान सिँचाइ गरिसकेको बताउँदै उनले अरू खेतमा भने पानी परेपछि मात्रै रोपाइ सुरु गर्ने सुनाए ।

धान रोपाइ गरिसकेका कैलालीको गौरीगंगा नगरपालिकाका स्थानीय माघुराम चौधरीले पानी नपर्दे रोपाइ गरेको र गर्मीले धान सुक्न थालेपछि सिँचाइ गर्नुपर्दा हाल पछुतो भइरहेको सुनाए ।उसो त नेपालमा मनसुन भित्रिएको एक साता बितिसकेको छ । तर यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेकाले सुदूरपश्चिम प्रदेशमा आउन अझै समय लाग्ने बताइएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जनाएको छ ।

मनसुन अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा वर्षात् भइरहेको छ । साथै बाढी, पहिरोले धनजनको क्षति समेत गराएको छ ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...