जुम्ला । पछिल्लो समयमा बीमाको महत्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बीमा प्रति आकर्षण हुन थालेकाछन् । एक नगरपालिका सहित आठवटा स्थानीय तह रहेको जुम्लामा नब्बे हजार ४११ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा कार्यालय जुम्लाका प्रमुख प्रेम भण्डारीले जानकारी दिनुभयो ।
४५ हजार ७२४ महिला र ४४ हजार ६८७ जना पुरुष स्वास्थ्य बीमामा आबद्ध भएकाछन् । कार्यालय प्रमुख भण्डारीले भन्नुभयो,“ जिल्लाका ११ हजार ६४८ घर परिवार बीमामा आबद्धछन् । ” २०७४ सालदेखी जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको कार्यालय प्रमुख भण्डारीको भनाइ छ ।
स्वास्थ्य बीमाका बारेमा पहिला यहाँका स्थानीयलाई पुर्णरुमा जानकारी र यसको महत्वबारे बुझेका थिएनन् । अहिले बीमा सहजकर्ताहरु घर–घरमा गएर बीमाको कामबारे जानकारी दिएपछि जिल्लाका नागरिक स्वास्थ्य बीमामा आबद्ध हुनेको संख्या बढेको कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो । जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा पु¥याउनका लागि कार्यालयले स्थानीय तहसंग समन्वय गरेर काम गरेको स्वास्थ्य बीमा कार्यालय जुम्लाले जनाएको छ । सरकारले अपाङ्ग, अशक्त, कुष्ठरोगी, एचआइभी संक्रमित,जेष्ठ नागरिक र अति गरिब घरपरिवारलाई निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ ।
अन्यको हकमा शुल्क लिएर एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने गरेको कार्यालयले जनाएको छ । बीमाको जथाभावी प्रयोगले अहिले स्वास्थ्य बीमा बोर्डको केन्द्रिय कार्यालयले सह भुक्तानीको व्यवस्था समेत गरेको छ । सरकारले २०७२ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । विजय रावत







हाम्रो कर्णाली । २६ चैत्र २०८०, सोमबार ०७:००