
जुम्ला ः जुम्लामा ग्यास लिग भएर आगलागी भएको छ । चन्दननाथ नगरपालिका –६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार न्यौपानेको घरको तीनतले घरको ग्राउण्ड फलरमा आगलागी हुदा ४ वटा कोठा, गल्ली र माथि तला जाने भर्याङ क्षति भएको छ । प्रहरीका अनुसार सो घरमा भाडामा बसेका नवराज खड्का खाना पकाउदै गर्दा एक्कासी रेगुलेटरमा आगो निस्केर आगजनी भएको हो । उनको अनुसार लिग भईरहेको आगो निभाउन खोज्दा ग्यास सिलिण्डर ढलेको र अन्य कपडामा आगो फैलिएको थियो । ।
आगो समयमा नियन्त्रण भएको छ । प्रहरी निरीक्षक जोशीका अनुसार घटनाको जानकारी भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र चन्दननाथ नगरपालिकाको दमकलदे आगो नियन्त्रणमा लिएको हो ।
आगलागी भईरहेको समयमा दोस्रो र तेस्रो तलामा रहेका नागरिकको उद्धार गरिएको छ । दोस्रो र तेस्रो तलामा रहेकी सरस्वती बुढ्थापा, प्रमिला बुढा, कर्मकन्या हमाल, पुजा बुढा र माया लक्ष्मी बुढालाई उद्धार गरिएको हो । उनीहरुलाई अर्को नयाँ निर्माण भईरहेको घरबाट भर्याङ लगाएर उद्धार गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय गोपाल रोकायाले अन्तिममा छतमा रहेकी एक जना ज्येष्ठ नागरिक महिलालाई कठिन अवस्थामा उद्दार गरिएको बताए । उनका अनुसार दमकल समयमै त्यो क्षेत्रमा पुगेपनि वाटो नभएका कारण घर नजिक जान सकेन तर ्रन्यौपानेको घरको छेउमा रहेको कालिवहादुर बुढाको घरको ट्यांकीमा रहेको पानीले आगो निभाउन ठूलो सहयोग पुगेको छ ।




हाम्रो कर्णाली । ६ फाल्गुन २०७९, शनिबार १७:४१