हिमा गाउँपालिकाले फागुनबाटै शैक्षिक सत्र कायम गर्ने

जुम्लाको हिमा गाउँपालिकाले फागुनबाटै नयाँ शैक्षिक सत्रलाई निरन्तरता दिने निर्णय गरेको  छ । संघीय सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लामा बैशाखदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने सार्वजनिक सूचना जारी गरेपनि हिमाली जिल्लाका लागि अनुकुल नभएकाले हिमाले फागुनदेखि नै शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको हो ।

जुम्लामा पुस १० गतेदेखि माघ २५ गतेसम्म ५० दिन बिदा हुने र बिदा सकिएलगत्तै नयाँ शैक्षिक सत्र सञ्चालन हुँदै आएको छ । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मानव संसाधन विकास केन्द्रले ०७९ माघ ६ गते देशभरका विद्यालयहरूलाई २०८० सालको शैक्षिक सत्र वैशाख १ गतेदेखि लागू गर्न निर्देशन दिएको थियो । उक्त निर्णय हिमाली जिल्ला जुम्लाको लागि अनुकूल नहुने हिमा गाउँपालिकाले ठहर गरेको छ ।

पुस १० अगाडि नै वार्षिक परीक्षा सञ्चालन गरिएको हुँदा स्कुल सुरु हुने बित्तिकै नयाँ शैक्षिक सत्र लागू गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताए । ‘हामीले हिमा गाउँपालिकाभरिका सम्पूर्ण प्रधानाध्यापकसँग राय लिँदा पुरानै शैक्षिक सत्र सहज हुने सुझाव दिए,’ उनले भने, ‘त्यसैले पुरानै शैक्षिक सत्रअनुसार विद्यार्थी भर्ना लिने निर्णय गरिएको छ ।’

जिल्लाका ८ वटै स्थानीय तहमा नयाँ शैक्षिक सत्र माघ २५ गतेदेखि लागू हुने गरेको छ । सबैले यसैलाई निरन्तरता दिएपनि मन्त्रालयको निर्णय के गर्ने भनी ठोस निर्णय गरेका छैनन् ।

पालिकाले हिमाका सम्पूर्ण विद्यालयहरुमा पाठ्यपुस्तक चाँडो उपलब्ध गराउन सरोकारवाला निकायसँग माग गरेको अध्यक्ष शाहीले बताए । उनले भने, ‘कक्षा १० सम्म स्थानीय तहलाई नै जिम्मेवारी र कर्तव्यभित्र राखिएको छ । तर शैक्षिक सत्र निर्धारण भने संघीय सरकारले गरिदिनु राम्रो भएन । शैक्षिक सत्र पनि स्थानीय सरकारले सञ्चालन गर्ने हो । बैशाखदेखि शैक्षिक सत्र हिमाली जिल्लाका लागि अनुकुल छैन ।’




प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...