कैलाली जनपुस्तकालय धनगढीले २०७९ सालको हर्ष–पार्वती लोकसंस्कृति पुरस्कार लेखक तथा लोकसाहित्य अनुसन्धाता गोविन्दप्रसाद पाण्डेलाई प्रदान गर्ने निर्णय गरेको छ ।
जुम्लाको तातोपानी गाउँपालिका गिडीखोलामा जन्म भई हाल चन्दननाथ टोल धम्बोजी नेपालगञ्जमा बसोवास गर्दै आएका पाण्डेलाई फागुन २० गते पुस्तकालयको वार्षिक उत्सवको अवसरमा पुरस्कार प्रदान गरिने बताइएको छ । उनी विगत दुई दशकदेखि कर्णाली क्षेत्रको लोक साहित्य तथा संस्कृतिको अध्ययन अनुसन्धान तथा प्रकाशनमा सक्रिय छन् ।
उनले बि.सं. २०६० सालमा काली कर्णालीका जाजरकोटदेखि दार्चुलासम्मका जिल्लाहरुमा स्थलगत भ्रमण गरी खस र डोटेली भाषाका देउडा गीत, भाका, देउडा गायक र देउडाको क्षेत्रमा संलग्न ब्यक्ति तथा संस्थाको गहन अध्ययन अनुसन्धान गरेर ‘देउडा ः विगतदेखि बर्तमानसम्म’ नामक पुस्तकसमेत प्रकाशन गरेका छन् ।
पाण्डेले नेपाल प्रज्ञा प्रतिष्ठानको लेखन बृतिमा कर्णालीको लोक साहित्यको अध्ययन समेत गरेका छन् । उक्त कृति हाल प्रकाशोन्मुख अबस्थामा रहेको छ । हाल जिल्ला हुलाक कार्यालय बांकेको कार्यालय प्रमुख पदमा कार्यरत पाण्डे कर्मचारी मिलन केन्द बांकेको उपाध्यक्षसमेत छन् ।