सुबिधायुक्त बसपार्क प्रयोगबिहिन : सडक पेटिमै पार्किङ,बजारका कुनामा काउन्टर

पूर्ण चौलागाईं,जुम्ला । जुम्लामा बनेको सुविधा सम्पन्न नयाँ बसपार्क प्रयोगविहीन भएको छ । निर्माण सम्पन्न भएकाे वर्षाै बितेपनि सराेकारवालाले चासाे नदिदा बसपार्क संचालनमा नआएकाे हाे ।

बसपार्क छोडेर सडकमै मनपरी रूपमा गाडी पार्किङ हुने गरेका छन् । जसले गर्दा बसपार्क वरपर हिँडडुल गर्न पनि समस्या भइरहेको यात्रुहरूको गुनासो छ । भने दुर्घटनाकाे जाेखिम पनि उतिकै बढेकाे छ । बसपार्क संचालन गर्ने बारे पटक पटक निर्णय नभएका पनि हैनन । तर कार्यान्वयन हुन नसक्दा सुविधायुक्त बसपार्क रित्तै छ । भने सडकका कुना कुना,बजारका गल्लिमा काउन्टर छन् । सडक पेटिमै गाडि पार्किङ हुने गरेका छन्

 

पछिल्लाे समय जुम्लामा सवारी चाप बढेकाे छ । करिब एक करोडाैको लगानीमा चन्दननाथ नगरपालिका–६ राहदेउमा रहेको सुविधायुक्त बसपार्क लामो समयदेखी प्रयोगविहीन छ । साना तथा ठूला यात्रुबाहक सवारी सबै मनपरि रूपमा सडकमा पार्किङ गर्ने तथा कुनाकुनामा टिकट काउन्टर खोलेर यात्रुलाई सास्ती भएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।

उनले भने, “सर्वसाधारण गाउँबाट आउँदा टिकट कहाँ काट्ने भन्ने विषयमा अन्योल हुन्छ, बसपार्क हेर्दा सधैँ रित्तो देखिन्छ।
उनले भने, “यसमा प्रहरी प्रशसान तथा यातायात व्यवसायी गम्भीर भएर छिटोभन्दा छिटो व्यवस्थापन गर्न उनको सुझाव छ । बजारका कुनाकुनामा टिकट काउन्टर छन्, गाडी पनि काउन्टरबाटै छुट्छन् । नयाँ निर्माण गरिएको बसपार्क रित्तै छ ।
जुम्लाबाट नेपालगन्ज, सुर्खेत, कालिकोट, काठमाडौंलगायत सहरमा दैनिक यातायात सञ्चालन हुन्छ । जिप, माइक्रो, अटोरिक्सा पनि सञ्चालनमा छन् । तर, यी कुनै पनि बसपार्क पुग्दैनन् । सबै सडक तथा बजार छेउछाउमै रोकेर राख्ने गरेका छन् ।

जग्गा धनिहरुले बसपार्क जाने बाटो दिन नमानेपछी बसपार्क प्रयोगविहीन भएको चन्दननाथ नगर प्रमुख राजु सिंह कठायतले बताए ।

झण्डै एक करोड लगानीमा निर्माण गरिएको बसपार्क संचालनमा नआउनु दु:खद पक्ष भएको र जतिसक्दो छिटो सर्वपक्षीय बैठक बसि बसपार्क संचालनमा ल्याइने नगर प्रमुख कठायतको दाबी छ।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले , नगरप्रमुख, ट्राफिकसँग छलफल गरेर बसपार्क सञ्चालनमा ल्याउन पहल थाल्ने बताए । बसपार्क हुँदा हुदै, सडकमा पार्किङ गर्ने, मनपरि भाडा असुल्ने गैरकानुनी काम हो, यसलाई प्रशासनले गम्भीरतापूर्वक लिएको छ । चाडै यस विषयमा छलफल गरेर निचोड निकालिने प्रजिअ घिमिरेको भनाइ छ ।




तपाईको प्रतिक्रिया