
रामप्रकाश विक : गुठीचौरका उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । पालिका भित्रका पाँच जना उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको छ । कृषि शाखाले गुठीचौर गाउँपालिका – १ का चौरी तथा भेडा फर्मका कृषक ज्वारीलाल रोकाय, वडा नम्बर २ का मौरिपालक कृषक हरिलाल ऐडी, वडा नम्बर ३ का हिमाली टि एण्ड एन एग्रोफर्म संचालक टंक गिरी, वडा नम्बर ५ का गुठीचौर एग्रो फर्मका संचालक मीमबहादुर भण्डारी र मष्टो भैसीपालन उद्योगका कृषक गोपाल महत सम्मान गरेको हो । गुठीचौर गाउँपालिकाले उत्कृष्ट कृषकलाई नगद ६ हजार २ सय र दोसल्लासहित सम्मानपत्र प्रदान गरेको हो ।
कृषकलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर वुढाले यहाँका कृषकका समस्या समाधानको लागि सधैँ तत्पर रहेको बताए । कृषकको मेहेनत र परिश्रमले पालिकालाई कृषि उत्पादनमा निर्भर बनाउन सकिने भएकाले किसानलाई प्रोत्साहन गर्न गाउँपालिका सरकारले ध्यान दिइरहेको उनले बताए । पुरस्कृत भएका किसानले कृषि पेशालाई जोगाइ राख्ने हो भने युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित हुने गरी नीति तथा योजना बनाउनुपर्ने सुझाव दिएका थिए ।
कृषकले कृषि उत्पादनको खरिद गरी बिक्रीको सुनिश्चित गरिदिनु पर्ने, कृषि अनुदानमा वृद्धि गर्नुपर्ने, समयमै बिउँ उपलब्ध हुनुपर्ने, सिँचाइको सुविधा विस्तार गरिनुपर्ने, कृषि उपजलाई पालिकाले खरिद गर्ने व्यवस्था गर्नुपर्ने, बिमाको उचित व्यवस्था हुनुपर्ने जस्ता माग गरेका छन् ।




हाम्रो कर्णाली । २५ असार २०८०, सोमबार १९:५९