
जुम्ला । कथित उपल्लो जातकी केटी भगाएका तातोपानी गाउँपालिका वडा नं. ४ का मुकुन्द नेपाली सम्पर्क विहिन रहेका छन् । मुकुन्दका दाई भरत नेपालीका अनुसार असार १२ गते केटाकेटि भागेर गएपछि भाई हालसम्म परिवारका कुनै सदस्यको सम्पर्कमा नरहेको बताएका छन् । केटा पनि २० वर्ष पुगेकाे छैनन ।
बुधबार जुम्लामा दलित अधिकारकर्मीहरु द्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भरतले भने,“उमेर नपुग्दै विवाह गर्नु अथवा केटी भगाउनु कानुन विपरित भए छलफल गर्ने,कानुनी सहायता लिने बाटो हुँदा हुदैँ कथित तल्लो जातको केटासंग बहिनी भागेको झोकमा योजनाबद्ध रुपले घरमा आगो लगाउनु जातिय विभेदको एक ज्वालन्त उदाहरण हो । जुन कुरा केटीका दाई हिक्मत गिरीले बयानमा स्वीकारी सकेका छन् । यो विकसित घटनालाई बंग्याउने चेष्टा नगरे हुन्छ । असार १२ गतेदेखि हालसम्म भाई मुकुन्द सम्पर्कमा नआउनु,एकाएक केटीपक्षबाटै सबै परिवालाई सिद्धाउने गरी घरमा आगो लगाउनु सबै योजनाबद्ध रहेको मेरो ठम्याई छ ।”
घरमा आगो लगाउने, आगो लगाउन योजना बनाउनेले भोली आफु र आफ्ना अन्य परिवार माथि पनि आक्रमण गर्न सक्ने भएकोले यस घटनामा संलग्न सबैलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्न समेत उनको माग छ ।
सुरुमा दुबै केटाकेटी नेपालगन्ज पुगेको,मैले विवाह गरिसकेकोले मलाई नखोज्नु भनेर केटी बसन्तीले भनेको भन्ने खबर केटीकै दिदि नारायणी जैसीले आफुलाइ सुनाएपछि आफुले दुबैजनालाई जसरी पनि नियन्त्रण लिन पहल गरौ र त्यसपछि कानुनी बाटो जाने वा सम्झाई बुझाई गरी अलग राख्ने भनी कुरा समेत भएको,गलतलाई लुकाउने दोषीलाई उम्काउने पक्षमा आफु नरहेको अथवा केटाकै गल्ती ठहरीए कानुन अनुसार कारबाहि गर्न पनि सहमत भएको कुरा जनाएको भरतले बताए ।
तर १६ गते काठमान्डौ आएकै दिन घर आगो लगाउनु र भाई मुकुन्द हालसम्म सम्पर्कमा नआउनुले सबै योजनाबद्ध भएको हुन सक्ने भरतको भनाई छ ।
दलित संग विहे गरेकै कारण आफुले दलित केटाको घर आगो लगाइ दिइएको भन्ने बयान केटीका दाईले प्रहरी समक्ष बयान दिई सकेका छन् । आमाले कथित तल्लो जातको केटा संग छोरी भागी भनेर नदीमा हाम समेत हालेकी थिईन् ।
यी सबै परिदृष्य जातीय विभेद नभएर के हुन्छ ? यो घटनालाई ढाकछोप गरेर ढाकीन्न यथासक्य घटनाम संलग्न सबैलाई कानुनी दायरामा ल्याई अनुसन्धान गरिनु पर्ने जुम्लाका अधिकारकर्मीहरुको माग छ ।
प्रहरी प्रशासनबाट घटनाको अनुसन्धानमा ढिलाई भए आन्दोलन चर्कीने भन्दै जुम्लाका दलित अधिकारकर्मीहरुले घटनाको अनुसन्धानमा गति दिन जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयको ध्यानर्कषण गराएका छन् ।

बुधबार पत्रकार सम्मेलन मार्फत संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जुम्लाका ६ वटा दलित अधिकारकर्मी संगठनहरुले कानुनी राज्यमा अन्तरजातीय विहे गरेकै निउँमा घर जलाई दिने जस्तो जघन्य अपरामा बेवास्ता गरेको खण्डमा शसक्त आन्दोलन गर्ने दलित सेवा संघ जुम्लाका अध्यक्ष भिम बहादुर नेपालीले बताए ।
उनका अनुसार विकसित घटनाक्रम सबै जातिय विभेदकै कारण भएकोले सबै अधिकारकर्मी एकजुट भएका छन् । बालविवाह भए कानुनी प्रक्रिया हुँदा हुदैँ घर आगो लगाउने जस्तो जघन्य अपराध गरेको स्वीकार्य नहुने उनको भनाई छ ।
६ वटा दलित अधिकारकर्मी संगठनहरुद्धारा जारी संयुक्त विज्ञप्तीमा लेखिएको छ,“अहिले सम्म मुकुन्द नेपाली सम्पर्कमा नहुनु,कथित तल्लो जातको संग भागेको झोकमा परिवारलनै सखाप पार्नेगरी घरमा आगो लगाउनु सबै परिदृष्य योजनाबद्ध हुन सक्ने हाम्रो आशंका छ ।
यो मानवता विपरितको निन्दनीय घटना हो । मानव अधिकारको ठाडो उंलघन भएको छ । तसर्थ मद्धालाई कमजोर पार्ने,घटनालाई बंग्याउने, सत्यकुरालाई ढाकछोप गर्ने,घटना माथि राजनीति गर्ने जस्ता गतिविधि नगर्न र घटनामा संलग्न सबैलाई कानुनी कारबाहि गरी पिडितलाई उचित क्षतिपुर्ति र न्याय प्रदान गर्न सम्बन्धीत निकायलाई जोडदार माग गर्दछौ ।”
उक्त घटनाको अनुसन्धान कार्यलाई जिल्लाका राजनीतिक दल,पत्रकार, अधिकारकर्मी,बृद्धिजीवि लगायत सम्पुर्ण समुदायलाई सहयोग गर्न समेत अपिल गरिएको छ ।
दलित सेवा संघ,नेपाल उत्पीडित जातिय मुक्ति समाज,नेपाल दलित मुक्ति मोर्चा,अनेमसंघ क्रान्तिकारी,दलित मुक्ति संगठन र राष्ट्यि प्रजातान्त्रीक उत्पीडित संगठनले उक्त घटनाको सत्यतथ्य अनुसन्धान गर्न तथा पिडितलाई क्षतिपुर्ति र न्याय दिन माग गरेका छन् ।

हाम्रो कर्णाली । २१ असार २०८०, बिहीबार ०९:०२