
पूर्ण प्रसाद चौलागाई, जुम्ला
मुगु पाटनमा यार्सागुम्बा टिप्न गएर हिम पहिरोले एकै घरका दुई जनासहित तीन जना बेपत्ता भएको छ । हिम पहिरोमा बेपत्ता व्यक्तिलाई उद्धार गर्न हेलिकोप्टरमार्फत दुई जना स्थानीयसहित २१ जनाको सुरक्षाकर्मीको टोली घटना स्थलमा पुगेको छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार घटना स्थलमा २१ जनाको टोली त्यहाँ पुगेको हो । प्रजिअ थापाले भने मंगलवार त्यहाँ टोली पुगेपनि अत्याधिक हिउ जमेकाले बेपत्ता भएका व्यक्ति भेटिएका छैनन् ।
सोमवार विहान हेलिकोप्टर मार्फत गएको टोली मुगुको सिरानचौरमा उतारिएको थियो । टोली हिडेर एक दिन लगाएर छापाखोलामा बसेको थियो । छापाखोलावाट विहान ६ बजे आज घटनास्थल च्यार्खु लेकमा पुगेर खोजीकार्य गरेपनि हिउँ धेरै भएकाले खोज्न नसकेर टोली फिर्ता भएको छ ।
हिम पहिरोमा जोगिएर मुगु जिल्ला प्रहरी कार्यालयको सम्पर्क आएका मध्ये कर्ण सार्की सहितलाई लिएर हेलिकोप्टर घटनास्थलमा गएको थियो । अन्य ९ जना घर फर्किएका छन् ।
कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपत व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाका अनुसार उद्धार टोलीले हिम पहिरोमा बेपत्ता व्यक्तिलाई खोजी कार्य गरेपनि भेटिएका छैनन् ।
घटना स्थलमा हिमपात भईरहेकाले पुन वास वस्न टोली छापाखोला फर्किएको र बुधबार पुन घटना स्थलतर्फ जाने भएको छ उनले भने ।
मुगु र डोल्पाको सिमामा रहेको पाटन च्यार्खु लेकमा पातारासी गाउँपालिका – २ तल्फी गाउँका ४२ बर्षीय तारासिंह सार्की, ३८ बर्षीय पुर्णसिंह सार्की दुई दाजुभाई हुन् । तारासिंहको घरबाट एक छोरा र चार दाजुभाई गरी पाँचको एक घरका परिवार यार्सागुम्बा टिप्न मुगु पाटनमा गएका थिए ।
यार्सागुम्बा टिप्न गएका पाँच परिवार मध्ये दुई दाजुभाई हिमपहिरोमा बेपत्ता भएका हुन् । यस्तै तल्फी गाउँका अर्का ३६ वर्षीय विरबहादुर वोहरा पनि हिम पहिरोमा वेपत्ता भएका छन् ।
यति लामो समयसम्म वेपत्ता भएका व्यक्ति पत्ता नलाग्दा आफन्तलाई निराशा बढ्दै आएको छ । पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले अहिलेसम्म मानिस पत्ता नलागेकाले आफन्तमा निराशा छाएको बताइत् । उनले भनिन् पालिकामा दुखत घटना भयो । यसप्रति हामी मर्माहित छौँ । उद्धार कार्य प्रभावकारी वनाउन नेपाल सरकार, प्रदेश सरकार सरोकारवाला निकायसँग पहल गरेका छौँ ।




हाम्रो कर्णाली । २६ बैशाख २०८०, मंगलवार १९:४०