
जुम्ला ः जुम्लामा अन्तर माध्यमिक विद्यालय स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सोमबारदेखि यहाँको सदरमुकाम खलंगास्थित नेपाली सेनाको टुडिखेल मैदानमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो ।
यहाँका ८ स्थानीय तह मध्ये प्रतियोगितामा चन्दननाथ नगरपालिका, पातारासी, तातोपानी, तिला, हिमा र कनकासुन्दरी गाउँपालिका विद्यार्थी खेलाडी सहभागी भएका छन् ।
गुठिचौर र सिंजा गाउँपालिका खेलाडी प्रतियोगितामा सहभागी भएका छैनन् । १२ औँ राष्ट्रपति रनिङशिल्ड गुठिचौर गाउँपालिकामा आयोजना गरिएको थियो । तर यस वर्ष सोही पालिका प्रतियोगितामा सहभागी भएको छैन ।
पिर्के सलामी अस्वीकार

आगामी चैत २९ गतेसम्म तीन दिन सञ्चालन हुने १३ औँ राष्ट्रपति रनिङशिल्डको जुम्लाका स्वतन्त्र प्रदेश सांसद देवेन्द्र बहादुर शाहीले उद्घाटन गरेका हुन् । सांसद शाहीले पिर्कामाथि उभिएर सलामी दिन अस्वीकार गरेका छन् । आयोजकले सलामी दिनका लागि पिर्काको व्यवस्थापन गरेपनि सांसद शाहीले पिर्कामा नउभिएर सलामी दिएका हुन् ।
पिर्के सलामीको धेरै आलोचना हुन थालेपछि सांसद शाहीले अस्वीकार गरेको बुझिएको छ ।
माध्यमिक विद्यालय स्तरको एक आपसमा सम्बन्ध विकास तथा खेल क्षेत्रको प्रवर्द्धन गर्नका लागि राष्ट्रपति रनिङशिल्ड कोशे ढुङ्गा सावित हुने सांसद शाहीको भनाई छ ।
पालिका स्तरमा प्रतिस्पर्धा गरी उत्कृष्ट भएका खेलाडी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका छन् । महिला पुरुष भलिबल, दौड, हाईजम, लम्जम, सटफुट लगायतका खेलहरूको प्रतिस्पर्धा हुने छ । खेल अवधिभरको शान्ति सुरक्षालाई थप मजबुद र व्यवस्थित बनाइने सहायक प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।
उनले भने, “खेलाडीले उत्कृष्ट खेलसँगै अनुशासन पनि प्रदर्शन गर्नुपर्छ । अधिकांश क्षेत्रमा यस्ता प्रतियोगिता हुँदा झैझगडा हुने गर्छन् । खेललाई मर्यादित बनाउन खेलाडी अनुशासित हुन जरुरी छ । सुरक्षा व्यवस्था मजबुद गरिने छ ।”
प्रतियोगिताको उद्घाटन सत्रमा सबै पालिकाका प्रमुख, खेल प्रशिक्षक शिक्षक तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । १३ औँ राष्ट्रपति रनिङ शिल्डको मुख्य आयोजक चन्दननाथ नगरपालिका, खेलकुद विकास समिति जुम्ला र सह–आयोजक चन्दननाथ मावि प्रायोजकका सिम्पल र जीपि स्टेशनरी जुम्ला रहेका छन् ।




हाम्रो कर्णाली । २७ चैत्र २०७९, सोमबार १८:४६