
पूर्ण चौलागाईं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले राष्ट्रिय जागरण अभियानको सुरुवात गरेको छ। नेकपा जुम्लाले आइतबार निर्वाचन क्षेत्र नम्बर (ख ) र साेमबार निर्वाचन क्षेत्र नम्बर (क ) मा अभिमुखीकरण कार्यक्रम आयाेजना गर्दै जुम्लामा उक्त अभियानको सुरूवात गरेकाे हाे ।
नेकपा केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह-इन्चार्ज नरेश भण्डारीले यो अभियानले जनतामा निकट सम्बन्ध कायम गर्न महत्त्वपूर्ण भुमिका खेल्ने भएकोले आगामी आउने निर्वाचनमा नेकपाको जित पक्का हुने बताए ।जनस्तरमा जनताको हरेक समस्या बुझी समाधान गर्न राष्ट्रिय जागरण अभियानले अहम् भुमिका खेल्ने केन्द्रिय सदस्य भण्डारीको भनाइ छ।
नेकपा केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज गोमा गौतम
(कुँवर )ले जनताकाे घरदैलामा पुग्न र जनताका गुनासा सुन्न राष्ट्रिय जागरण अभियानको सुरुवात गरिएको बताइन् । पार्टी कार्यकर्ता र नेताहरूबीच संवाद,सहिद तथा घाइतेहरूलाई भेट्नुका साथै आसन्न प्रदेश तथा स्थानीय तह निर्वाचनकाे तयारीका लागि अभियान अन्तर्गत गतिविधि सञ्चालन गरिने गौतमको भनाई छ ।

नेकपा जुम्लाकाे निर्वाचन क्षेत्र (ख) का इन्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य पदम बहादुर राेकायाले व्यक्तिगत स्वार्थ त्यागेर दलकाे हितका लागि एकजुट हुनुपर्ने बताए ।
नेकपा जुम्लाकाे निर्वाचन क्षेत्र (क) का इन्चार्ज वीर बहादुर कुँवरले बर्तमान सरकारले गरेका गलत कार्यको भण्डाफाेर गर्न राष्ट्रिय जागरण अभियान सुरू गरिएको बताए ।

नेकपा जुम्लाकाे निर्वाचन क्षेत्र (क) का सह-इन्चार्ज गंगादेवी उपाध्यायकाे अध्यक्षतामा सुरु भएको सो अभियानमा अगुवा नेता तथा कार्यकर्ताहरुकाे उल्लेख्य सहभागीता रहेकाे थियोे ।

हाम्रो कर्णाली । १७ कार्तिक २०८३, सोमबार २१:४९