पूर्ण चौलागाईं ।
जुम्लाको पातारासी-१ लाई छाउपडी विभेद मुक्त वडा घोषणा गरिएको छ।बुधबार विशेष कार्यक्रमको आयोजना गरि उक्त वडालाई छाउपडी विभेद मुक्त वडा घोषणा गरिएको हो। हाम्रो समाजमा रहेका कुप्रथा,कुरिती तथा कुसंस्कारको अन्त्य गरि सभ्य समाजको निर्माण गर्ने हेतुले सो घोषणा कार्यक्रम गरिएको हो।
पातारासी गाउँपालिकाको आयोजना र सर्बोदय नेपालको समन्वय तथा सहयोगमा पातारासी-१ लाई छाउपडी विभेद मुक्त वडा घोषणा गरिएको छ।
हालसम्म जुम्ला जिल्लाका २१ वडा र ५३ गाउँमा छाउपडी विभेद मुक्त घोषणा गरिएको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमल खत्रीले बताए ।समाज रुपान्तरणको यो अभियानलाई निरन्तरता दिई समुन्नत समाजको निर्माणमा सर्वोदय नेपाल अगाडी बढेको सर्वोदय नेपालका कार्यकारी निर्देशक खत्रीको भनाइ छ।

कार्यक्रमका प्रमुख अतिथि पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंग बोहोराले समाजमा कुप्रथाको रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्न पालिका सकारात्मक ढंगले लागीपरेको बताए । पालिका उपाध्यक्ष जनमाया रोकायाले कुसंस्कार र कुप्रथाको अन्त्य नभएसम्म पालिकाको समग्र बिकास गर्न नसकिने बताइन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा रहेका हानिकारक अभ्यासलाई जरैदेखी उखेल्नु पर्नेमा जोड दिए।

हाम्रो कर्णाली । ३ भाद्र २०८३, बुधबार २२:१५