
मानदत्त रावल, जुम्ला : जुम्लाको दुर्गम भेगमा पर्ने भेरीखोला । जहाँ तातोपानी गाउँपालिका – ७ र ८ वडामा धेरै गाउँबस्ती छन् । जुम्लाको सदरमुकाम खलंगादेखि निकै दुरदराजमा पर्ने भेरीखोलामा धेरैजसो पशुचौपाय पालन गर्दछन् । कच्ची बाटो खनिय पनि नियमित रुपमा सवारी साधन चल्दैनन् । विजुली नहुदा दैनिकी अध्यारोमै वित्छ ।
भेरीखोलामा सामान्य उपचारका लागि स्वास्थ्य चौकी भएपनि विशेषज्ञ चिकित्सक सेवा पाउदैनन् । यस्तै समस्यालाई मध्यनजर गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सहकार्यमा तातोपानी गाउँपालिकाले चैत १० र ११ गते दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हो ।
निशुल्क स्वास्थ्य शिविरमार्फत भेरीखोलाका ४०५ जना स्थानीय लाभान्वित भएका छन् । आर्थिक अभावले स्वास्थ्य सेवा र उपचारबाट बन्चित विपन्न नागरिकको राहतका लागि जनतासंग अध्यक्ष कार्यक्रम अन्तरर्गत स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
दुई दिने स्वास्थ्य शिविरको पहिलो दिन शुक्रबार २५० जना र दोस्रो दिन शनिवार १५५ जना गरी ४ सय ५ जनाले विभिन्न समस्याको जाँचसंगै स्वास्थ्य उपचार गरेका हुन् । जसमा महिला २५१ जना र पुरुष १५४ जनाले परीक्षण गरिएको स्वास्थ्य संयोजक चौलागाँईले बताए । १२ जना गर्भवती महिलाले अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवा प्राप्त गरेका छन् ।
उनले भने दुर्गम भेरीखोला क्षेत्रका नागरिकका लागि आयोजित स्वास्थ्य शिविरका लागि जनतासंग अध्यक्ष कार्यक्रमको ५ लाख बजेट खर्च भएको छ । भेरीखोला क्षेत्रमा अहिले सम्मकै ठुलो र सबै रोगको परिक्षण गर्ने शिविरको आयोजना गरेपछि नागरिकको उत्साहजनक सहभागिता रहेको थियो ।
शिविरमा अधिकांश महिलाको पाठेघरको समस्या, सेतो पानी बग्ने लगायतका स्त्रीरोग देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशषज्ञ डाक्टर पुजन रोकायाले बताए । उनका अनुसार शिविरमै तीन जनाको शल्यक्रिया समेत गरिएको छ । लामो समयदेखि हड्डीको समस्या झेलिरहेका तथा खुट्टामा काँडा काँठ बिजेर ईन्फेक्सन समेत जटिल तीन जना विरामीको शल्यक्रिया गरिएको हो ।
तातोपानी गाउँपालिका –७ की ८० वर्षीया रामकली रावत भन्छन,“शरिर दुख्ने, ओठमुख सुक्ने, ज्वरो आउने, पेट दुख्ने समस्याबाट लामो समयदेखि पीडामा परेकी थिए । उनले भनिन् खलंगाको ठुलो अस्पताल गएर उपचार गर्ने पुँजी थिएन् । तर गाउँमै सेता एप्रोनधारी डाक्टर आउँदा खुशी लाग्यो । हामी बुढाबुढी टाढा अस्पताल पुगेर उपचार गर्न सकिएको थिएन । घरमै आएर उपचार पाउन सहज भयो ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले दुर्गम भेरीखोला क्षेत्रका नागरिकको माग र समस्यालाई मध्यनजर गरी निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको बताए । उनले भने, “शिविरको पहिलो दिनमै नागरिकको उत्साहजनक सहभागिताले स्वास्थ्य शिविरको ओैचित्य पृष्टि भयो । उपचारबाट बन्चित विपन्न नागरिकले शिविरबाट राहत पाएको अध्यक्ष चौलागाईको विश्वास छ ।




हाम्रो कर्णाली । ११ चैत्र २०७९, शनिबार १७:५४