
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा ५२ वटा मतदानस्थललाई अति सम्वेदनशीलका रूपमा राखिएको छ । मतदानस्थललाई शान्तिपूर्ण र भयरहित बनाउनका लागि सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिन बाबू रेग्मी बताए ।
एक नगरपालिका सहित सात गाउँपालिका रहेको जिल्लामा जिल्लाभरि ८५ वटा मतदानस्थलमध्ये ५२ वटालाई अति सम्वेदनशील रुपमा वर्गीकरण गरिएको छ । १८ वटा मतदानस्थललाई सम्वेदनशील रुपमा राखिएको छ ।
१५ वटा मतदानस्थललाई सामान्य रुपमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिए । जिल्लामा ११० वटा मतदान केन्द्रमध्ये २५ वटा सम्वेदनशील मतदान केन्द्रको रुपमा वर्गीकरण गरिएको छ । ६४ वटा मतदान केन्द्रलाई अति सम्वेदनशीलमा राखिएको छ ।
२१ वटा मतदान केन्द्रलाई सामान्य रुपमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रेग्मीको भनाइ छ । निर्वाचनका लागि जिल्लामा कुल जम्मा मतदाता संख्या ७१ हजार ७३९ जना रहेकाछन् ।
कुल मतदातामध्ये महिला मतदातातर्फ ३४ हजार २८० जना र पुरुष मतदातातर्फ ३७ हजार ४५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले बताए ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र निर्वाचन प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

हाम्रो कर्णाली । २० माघ २०८२, मंगलवार ०८:५०