
पूर्ण चौलागाईं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाँईले महत्वपूर्ण तीन निर्णय गरेका छन् । शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै जुम्लाको हाँकुमा बेलिब्रिज निर्माण गर्नेदेखि कर्णाली राजमार्ग सुधार गर्ने लगायतका तीन निर्णय गरेका हुन् ।
माननीय वन तथा वातावरण मन्त्री समेत रहेका मन्त्री चौलागाईंलाइ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
शुक्रबार पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतीका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैंकलाई अनुरोध गर्ने निर्णय भएको छ ।
दोस्रो जुम्ला र कालिकोट जिल्लाको सिमाना नाग्म स्थित हिमा नदिमा पक्की पुल बनिसकेको अवस्थामा उक्त स्थानमा रहेको बेलिब्रिजलाई जुम्ला जिल्लाको तातोपानी गाउँपालिका ५ स्थित तिला नदिमा तातोपानी गाउँपालिका ४ हाँकु जोड्न स्थानान्तरण गर्ने निर्णय भएको छ ।
भने तेस्रोमा निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसुची १३ मा रहेको ‘घ’ वर्गको निर्माण व्यवसायीको योग्यता सम्बन्धी मापदण्ड परिमार्जन गर्न आवश्यक सुझावका लागि मन्त्रालयका सहसचिव शुसिलबाबु ढकालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ ।
वडा नं ४ र ५ लाई जोड्न बेलिब्रिज निर्माण हुने भएपछि तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले खुसी व्यक्त गरेका छन् । मन्त्री चौलागाँईबाट जुम्ला सहित समग्र कर्णालीको भौतिक पूर्वाधार विकासले फड्को मार्ने आशा गरिएको अध्यक्ष चौलागाँईले उल्लेख गरे ।




हाम्रो कर्णाली । २५ पुष २०८२, शुक्रबार १८:२६