
जुम्ला ः जुम्लाको हिमा गाउँपालिका – ५ बाँजागाडस्थित रुपाकोट आधारभुत विद्यालयमा शतप्रतिशत बालबालिका भर्ना भएका छन् । बाँझागाड गाउँका २८३ विद्यार्थी भर्ना भएपछि विद्यालयमा शतप्रतिशत बालबालिका भर्ना भएका हुन् । यो गाउँमा घरधुरी सर्वक्षेण गर्दा कुनै पनि बालबालिका विद्यालय बाहिर रहेका छैनन् ।
तर कुनै वेला यो विद्यालय राजनीतिक दलिय स्वार्थका कारण विभाजित भएको थियो । २२ साउन ०५७ विद्यार्थीसहित स्कूल विभाजन गरिएको थियो । त्यतिवेला नयाँ पत्रिकाको फ्रन्टपेजमा समाचार प्रकाशन भएको थियो । यो विद्यालय एक बनाउन ०७७ सालदेखि प्रयास भएपनि विभाजित विद्यालय ०७८ सालदेखि पूर्णरुपमा एउटै भएको पूर्ववडाध्यक्ष नन्दबहादुर रोकायाले बताए । उनले भने त्यति बेला गाउँघरमा राजनीतिक वातावरण नमिल्दा निकै समस्या भएको थियो । अहिले त्यस्तो छैन ।
राजनीतिक रुपमा आ–आफ्ना विचार भएपनि सामाजिक काममा गाउँले एकजुट हुने गरेको उनले बताए । यो गाउँका ४ देखि १६ वर्षमुनिका सबै बालबालिका विद्यालयको पहुँचमा आएका छन् । अहिले कुनै पनि बालबालिका विद्यालय बाहिर रहेका छैनन् उनले भने ।
वडा नम्बर ५ भित्र पर्ने बुअगाउँस्थित कालिका माध्यामिक विद्यालयमा ६३० जना विद्यार्थी भर्ना भएका छन् । यससँगै ४ वर्षदेखि माथि १६ वर्षदेखि मुनि उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन् ।
कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको भन्दै शुक्रबार एक औपचारिक कार्यक्रम गरी घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले संयुक्त रुपमा सबै बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरेका हुन् ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सबै बालबालिका विद्यालयमा भर्ना भएपछि वडालाई नै सबै बालबालिका विद्यालय भर्ना भएको वडाको रुपमा घोषणा गरिएको बताए । यस अवस्थाले जुम्लाको शैक्षिक क्षेत्रको अवस्था दिनप्रतिदिन सुध्रिँदै गएको संकेत भएको उनीहरूले बताए ।
हिमा गाउँपालिका – ५ मा बाँझागाड र बुअगाउँ गरी दुई गाउँ छन् । रुपाकोट आधारभूत विद्यालय बाँझागाड र कालिका माध्यमिक विद्यालयमा शतप्रतिशत बालबालिका भर्ना भएको पालिका अध्यक्ष शाहीले बताए । उनले भने, ‘वडाभित्र ३ सय ३० घर छन् । सबै घरका बालबालिका विद्यालयसम्म पुगेका छन् । यो शिक्षा क्षेत्रको सवल पक्ष हो ।
हिमा गाउँपालिका र किर्डाक नेपालको समन्वयमा विद्यालय भर्ना अभियान सुरु भएदेखि नै बालबालिका विद्यालयको पहुँचमा पु¥याउन विभिन्न क्रियाकलाप गरिएको थियो । गत माघ २५ देखि विद्यालय भर्ना अभियान सुरु भएकोमा प्रत्येक बालबालिकाको घरघरमा पुगेर विद्यालय बालबालिका पठाउन हरेक अभिभावकलाई आग्रह गरिएको थियो ।
हिमाको शिक्षा शाखाका कर्मचारीहरु, शिक्षकहरु, किर्डाक नेपालका कर्मचारीहरु र जनप्रतिनिधिहरु प्रत्येक घरदैलोमा पुगेर अभिभावकलाई शैक्षिक चेतना जागृत गराएका थिए । फलस्वरुप सबै बालबालिका विद्यालयको पहुँचमा पु¥याउने वडाको रुपमा परिचित भएको हो
’पहिलो पटक वडा नम्बर ५ शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडाका रुपमा घोषणा भएको छ,’ अध्यक्ष शाहीले भने,‘अब सबै वडाहरुमा घनिभुत रुपमा कुनै पनि बालबालिका विद्यालय बाहिर नहुने हिसाबले अभियान चलाइनेछ ।’
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले भने कुनै पनि बालबालिका विद्यालय बाहिर हुन दिनु हुदैन । बालबालिका विद्यालय भर्ना भएर मात्रै नहुने भन्दै उनले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा जिम्मेवार हुन सचेतीकरण गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी केसरीका अनुसार विद्यालयको पहुँचमा आउनु सवल पक्ष हो । उनले भने शिक्षकको सक्रियता, विद्यार्थीको लगनशिलता र अभिभावकको बालबालिका प्रतिको चिन्ताले मात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ । ।




हाम्रो कर्णाली । ४ चैत्र २०७९, शनिबार १९:०९