राजस्व कार्यालय जुम्लाद्वारा ८ करोड ६८ लाख राजस्व सङ्कलन

पूर्ण चौलागाईं
आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको चार महिनामा रु ८ करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा रु १३ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा ८ करोड ६८ लाख राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख प्रभात घिमिरेले बताए ।
जसमा आयकरतर्फ ६ करोड ४४ लाख , भ्याटतर्फ १ करोड ६८ लाख र अन्तःशुल्कतर्फ ५६ हजार राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय प्रमुख घिमिरेले बताए ।
करदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि निर्माण व्यवसायी लगायत ठुला र साना व्यवसायीलाई जोड दिनका लागि कार्यालयले काम गरि रहेको छ । बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर दिइने गरी काम भइरहेको प्रमुख कर अधिकृत घिमिरेले बताउनुभयो । जिल्लामा १७ हजार बढी करदाता संख्या रहेकाछन् । भ्याटतर्फ मात्र २ हजार ३२ जना रहेकाछन् ।
शुक्रबारसम्म ६७७ जनाले व्यक्तिगत प्यान लिएकाछन् । यो वर्ष कार्यालयले ६४ करोड राजस्व संकलन गर्न लक्ष्य लिएको आन्तरिक रावस्व कार्यालय जुम्लाले जनाएको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१।८२ मा रु ४९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले वार्षिक लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको हो । कार्यालयको वार्षिक राजस्व उठाउने लक्ष्य ६३ करोड ७१ लाख रुपैयाँ रहेको थियो । कूल वार्षिक लक्ष्यको ७८ प्रतिशत मात्र राजस्व उठेको प्रमुख कर अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
चालु आवको बाँकी अवधिमा सरोकार भएका निकायसँग समन्वय गरी प्रभावकारी करदाता शिक्षामार्फत स्वेच्छिक कर सहभागिता अभिवृद्धि, आर्थिक ऐन, २०८२ ले प्रदान गरेका छुट सुविधाको प्रचारप्रसार, राजस्व चुहावट तथा कर छलीको नियन्त्रण, बक्यौता कर असुलीलगायत क्रियाकलापलाई जोड दिँदै कार्यालयको वार्षिक राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको कार्यालयले जनाएको छ ।




तपाईको प्रतिक्रिया