
पूर्ण चौलागाईँ
जुम्ला,२७ फागुन : जुम्ला सदरमुकाम खलङ्गा बजारमा आलुको बीउ प्रदर्शनी मेला भएको छ। चन्दननाथ नगरपालिका वडा नं ५ मा रहेको मुख्य बजारकाे कृष्णमन्दिर प्राङ्गणमा आलु मेला प्रदर्शनी भएको हाे ।
कृषि विकास कार्यालय जुम्ला , भुमि समस्या समाधान आयोग जिल्ला समिति जुम्ला र नेपाल पत्रकार महासंघ शाखा जुम्लाको संयोजकमा मंगलबार आलु प्रर्दशनी मेला भएको भुमि समस्या समाधान आयोग जुम्लाका विज्ञ सदस्य सुमन आचार्यले बताए । जुम्ला जिल्लाका ८ वटै स्थानीय तहको उच्च भुभागमा फल्ने आलुको बीउ संकलन गरी कृष्णमन्दिर प्राङ्गणमा प्रदर्शन गरिएको हो। आलुको बजारीकरण र बृद्धि गर्नका लागि कृषकलाई प्रोत्साहित गर्नका लागि उक्त प्रर्दशनी मेला गरिएको थियो।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा दुई हजार २४५ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको थियो । त्यसको उत्पादन ३४ हजार ४५० मेट्रिक टन उत्पादन र उद्पादकत्व १५ दशमलव ३५ मेट्रिक टन रहेको थियो । त्यसैगरी ०८१÷०८२ मा दुई हजार २९० हेक्टर क्षेत्रफलमा खेती भएको थियो । उत्पादन ३५ हजार ९३० मेट्रिक टन र उद्पादकत्व १५ दशमलव ७ मेट्रिक टन रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख अधिकारीले बताए ।




हाम्रो कर्णाली । २७ फाल्गुन २०८१, मंगलवार १७:००