
उच्च अदालतले सफाई दिनुको आधारहरु के–के हुन् ?
२०७५ साउन २० गते जुम्ला खलंगा बजार जुगाड पुल नजिकै संचालनमा रहेको न्यु सनलाईट होटेल पछाडीको काठेपुल मुनि (जुगाड खोलामा) साँझ करिब ९ः३० बजेतिर राधाकृष्ण बुढ्थापाको मृत शरीर फेला परेको थियो ।
मृतकका बुवा रामकृष्ण बुढ्थापाले छोराको हत्या भएको हुन सक्ने आशंकामा चन्दननाथ नपा वडा न.६ का खड्गजित रोकाया र एङ्गल लामा विरुद्ध २०७५ भदौँ २१ गते जिल्ला प्रहरी कार्यलय जुम्लामा जाहेरी दिएका थिए । सोही आधारमा प्रहरीले पक्राउ गरी दुबै जनालाई हिरासतमा राखेर अनुसन्धानको थालनी गरेको थियोे । प्रहरी हवलदार भिम बोहोरामाथि पनि आशंका उब्जेपछि जिल्ला प्रहरी प्रशासनको अनुसन्धान कमजोर हुन सक्ने भनेर उच्च स्तरीय छानबिन समितिको माग गरिएको थियो ।
पछि राधाकृष्ण बुढ्थापाको मृत्युको सम्बन्धमा तत्कालीन नेपाल सरकार गृहमन्त्रालयका सहसचीव गोपाल प्रसाद अर्यालको नेतृत्वमा ५ सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन भएको थियो । उक्त समिति जुम्लामा आयर २०७५ भदौ २१ गतेदेखि २९ गतेसम्म घटनाको बस्तुगत तथा स्थलगत अनुसन्धान गरेको थियोे । साथै मृतकका घरपरिवार, राजनीतिक दल, नागरिक समाज, स्थानीय पत्रकारहरुसङ्ग तत् बिषयमा अन्तरक्रिया समेत गरेको थियो । सरोकारवाला अधिकारी र प्रतिस्ठानका शवपरिक्षण गर्ने चिकित्सक हरुको समुहसङ्ग समेत राय लिएको थियो । साथै घटनासङ्ग सम्बद्ध तमाम मानिस र सनलाईट होटेल वरिपरि रहेका छिमेकीहरु सङ्ग घटनाको बारेमा ब्यापक सोधपुछ तथा बुझ्ने काम गरेको कुरा समेत समितिको प्रतिबेदनमा स्पष्ट रूपमा उल्लेख रहेको छ । समितिले त्यसरी निस्पक्ष रूपमा बस्तुगत तथा स्थलगत अनुसन्धान गरि अनुसन्धानको सबै स्वच्छ बिधि–प्रक्रिया पुरा गरेर ०७५ भदौँ २९ गते जिल्ला प्रशासन कार्यलयमा स्थानीय पत्रकार सम्मेलनको आयोजना गरेर;बुढ्थापाको मृत्युको कारण मोटर साईकल दुर्घटना रहेको भन्ने समितिको प्रारम्भिक प्रतिबेदनले निस्कर्ष निकालेको थियो । समितिले बाकी अनुसन्धानको प्रक्रिया पुर्यायर प्रतिबेदन गृहमन्त्रालयमा बुझाउने कुरा समेत प्रतिबेदनमा उल्लेख रहेको छ ।
पछि कारागार जुम्लामा अनुसन्धानको लागि (पुर्पक्ष) थुनामा रहेका खड्गजित रोकाया र एङ्गल लामालाई जिल्ला अदालत जुम्लाले २०७७ मंसिर २१ गते गरेको फैसलाले जन्मकैद (२०) बर्ष सजाय तोकेको थियो ।
उक्त फैसला प्रति प्रतिवादी रोकायाको गम्भीर प्रतिक्रिया रहेको छ । रोकायाको भनाइ अनुसारः–स्वयम् नेपाल सरकारले (उच्चस्तरीय समितिले) अनुसन्धान गरेको अत्यन्तै महत्वपूर्ण प्रमाणको रूपमा रहेको समिति प्रतिबेदन जस्तो चिज न्यायीक प्रक्रिया अनुसार अदालतमा स्वतःपेश भएर मात्र फैसला हुनुपर्ने ठाँउमा उल्टो मेरो पक्षको वकिल (पुष्पराज पौडेल) लाई प्रभावमा पारेर प्रतिबेदन पेश हुनै नदिने र जसरी पनि एक निर्दोष मानिसलाई दोषी ठहर गर्ने षड्यन्त्र गरियो ।
अन्ततः जिल्ला अदालतबाट जन्म कैद जस्तो निर्मम र क्रूर फैसला सुनाउने तारताम्य मिलाईयो–रोकायाले भने । प्रतिबेदन पेश हुन नदिन निरन्तर षड्यन्त्र गरिरहेको पात्र र प्रवृत्तिले जिल्ला अदालतको फैसलामा कति प्रभाव पारेको थियोे होला त्यो मामुलि मानिसले पनि अनुमान लगाउन सक्ने कुरा हो । मेरो निर्दोशिताका प्रत्यक्षदर्सीहरु सहितको बयान सहित अन्य तमाम प्रमाणलाई लत्याएर जिल्ला अदालतले जसरी क्रूर फैसला गरेको थियो । त्यो अनुचित प्रभावमा परेर गरिएको एक अपराधीक फैसला थियोे–रोकायाले भने ।
जिल्ला अदालतले गरेको जन्मकैदको फैसलाविरुद्ध २०७७ चैत ३० गते उच्च अदालतमा रोकाया र लामाले पुनरावेदन गरेका थिए । अनेक षड्यन्त्र र विभिन्न न्यायीक बाधा–अबरोधका बाबजुद पछि उच्च,अदालत,जुम्लाले गृह– मन्त्रालयमा २०७८ जेठ २५ गते प्रतिबेदनको आदेश गर्ने हिम्मत गरेको रोकाया बताउछन् ।
प्रतिवादी रोकायालाई निर्दोष ठहरेको निर्णयाधार
१) अनुसन्धान अधिकारी र अदालतको बकपत्रमा रोकायाको पुर्ण ईन्कारि बयान रहेको ।
२) रोकायको उक्त बयानलाई समर्थन हुनेगरी घटनाको प्रत्यक्ष दर्शीको रूपमा रहेका च.ना वडा न. ९ का छायाबहादुर खत्री, होटेल कामदार खगेन्द्र बुमि, बिनोद गिरी,खगेन्द्र कठायत होटेल नजिकै टेलर्स काम गर्ने राजेन्द्र नेपाली लगायतको बयान र बकपत्र ।
३) उक्त घटना घटेको साँझ होटेलमा पाहुनाको रूपमा बसेका कालिकोटका ५८ बर्षीय जगतबहादुर शाही र उहाँको छोरीहरु अनिता शाही र बिरेन्द्रा शाहीको बयान र अदालतमा गरेको बकपत्र ।
४) सोही दिन होटेलमा अन्य पाहुनाका रूपमा बसेका जुम्ला ताम्तिका बलबहादुर शाही र लालबहादुर शाहीको बयान र बकपत्र ।
५) माथिल्लो कालढुङ्गी नजिक मोटर साईकल दुर्घटना हुनु भन्दा केही समय पहिले (बिना हेल्मेट मोटरसाईकल अनियन्त्रित तीब्र गतिमा कुदेको) देख्ने प्रत्यक्षदर्शी मदन महत र सन्तोष महताराको बयान र बकपत्र ।
६) उच्च स्तरीय छानबिन समितिले घटनाको स्थलगत तथा बस्तुगत अनुसन्धान गरेर दुर्घटना भनेर निकालेको निष्कर्सित प्रतिबेदन ।
७) समितिले राधाकृष्ण बुढ्थापाको मृत्युको कारण सम्बन्धमा; त्रि.बि टिचिङ्ग हस्पिटलका फरेन्सी मिडिसन बिभागका प्रमुखहरुसङ्ग मागेको चिकित्सा बिज्ञ रायको संयुक्त निष्कर्ष सहितको प्रतिबेदन ।
उच्च अदालतको फैसलाले गरेको ब्याख्याको संक्षिप्त अनुच्छेद
गोपाल प्रसाद अर्यालको नेतृत्वको समितिले राधाकृष्ण बुढ्थापाको मृत्युको सम्बन्धमा त्रि.बि टिचिङ्ग हस्पिटलका फरेन्सी मेडिसन बिभागका प्रमुखहरु डा.हरिहर श्रेष्ठ,डा.तुलसी कडेल,डा.प्रमोद कुमार श्रेष्ठसङ्ग मागेको संयुक्त बिज्ञराय अनुसार मृतक राधाकृष्ण बुढ्थापाको टाउकोको चोट कुनै धारिलो हतियारबाट नभएर बोधो बस्तुको सम्पर्कबाट हुन गएको देखिन्छ । घटनासङ्ग सम्बन्धित संक्षिप्त विवरण,मृतकको शव परीक्षण प्रतिबेदन र कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठानमा तत्काल खिचिएका मृतकका घाउचोटका तस्बिर र अन्य प्रमाणहरु हेर्दा, मृतक मोटरबाईक दुर्घटनामा परी ठाडो खोलाको पानीमा बगेर मृत्यु भएको भन्ने संयुक्त चिकित्सक राय सहित प्रतिबेदनमा उल्लेख रहेको देखिन्छ ।
अन्य मिसिल सङ्गलग्न प्राप्त प्रमाण अनुसारः–उक्त साँझ राधाकृष्ण बुढ्थापालाई हेम बुढथापाले फोन गरी होटेलमा बोलाएका थिए । बादीपक्षले लगायको जस्तो आरोप (होटेल साहुको षड्यन्त्र) होटेल साहुले षड्यन्त्र गर्नुपर्ने कुनै कारण थिएन र देखिदैन पनि ।
उक्त दुर्घटना हुनु भन्दा अगाडी साँझ करिब ८ः३० बजेतिर एङ्गल लामा र बुढ्थापा बीच होटेल बाहिर जुगाड पुलमा सामान्य झगडा भएको; तर रोकाया र छाँयाबहदुर खत्रीले उक्त झँगडा तत्काल छुट्टाएको देखिन्छ । रोकायाले एङ्ग्ल लामालाई; लामाको अनुहारमा (झँगडा हुदा) लागेको चोटको उपचार्थ नजिकै कर्णाली मेडिकलतिर लगेका र पछि एङ्गल लामाको घरमा पुर्याईदिएका थिए । यता राधाकृष्ण बुढ्थापालाई खत्रीले शान्त पारिसकेपछि बुढ्थापा आफ्नो औंलामा लागेको घाउचोटमा होटेलका कामदारबाट टालो बाधि मागेपछि बुढ्थापा बिना हेल्मेट बाईक चढेर आफ्नो घरतर्फ गएका थिए । रोकाया होटेल साँहु र बुढ्थापा ग्राँहक भएको त्यो भन्दा पहिले दुई जना बिच कुनै प्रकारको लेनदेन, विवाद तथा पुर्ब रिसिबी कुनै चर्को प्रतिस्पर्धा नभएको र अर्का प्रतिबादी एङ्ग्ल लामा र राधाकृष्ण मिल्ने साथी रहेको । उक्त कुरालाई बादीपक्षले पनि (स्वीकारेको) इन्कार गर्न नसकेको ।
मृत शरीर खोलाबाट उद्दार गरिसके पश्चात तत्काल साँझ करिब १०ः०० बजेतिर मृतकका परिवार र सहोदर आफन्तहरुको रोहवरमा सनलाईट होटेल खानतलासी गर्दा होटेल भित्र त्यस्तो आशंकित अपराध (झगडा) भएको जस्तो सामन्य संघर्षका कुनै दाग, चिन्ह, बस्तुस्थिति नदेखिएको र होटेलमा बसेका कामदार र सबै पाहुनाहरुलाई समेत तत्काल ताजा समयमा सोधपुछ गरेर फर्किएको कुरा स्वयम् मृतकका सहोदर काका विष्णुबहादुर बुढ्थापा सहितले बयान गरेको कुरा समितिको प्रतिबेदनमा रहेको छ । होटेल भित्र घटना घटाईएको भनेर,आम जनमानसमा अनेक भ्रम फैलाउने; कृतिम प्रमाणको सृजना गर्ने; पत्रिकामा मनपरि लेखेर आमभ्रमित पार्ने;गाउँका सोँझा–साँझा महिलाहरु लाई उचालेर (घटना होटेल भित्र घटाईयको भन्ने जस्तो भ्रम पार्ने उदेश्यले) सुनियोजित रूपमा होटेल तोडफोड गरिएको र आफना विरुद्ध बद्नियतका साथ समाजमा व्यापक भ्रम फैलाउने कार्य गरिएको रोकायाको बुझाई छ ।
मृतकको टाउकोको निधार भागमा लागेको चोटको प्रकृति अनुसार होटेल भित्र बाहिर कहिकतै रगत नदेखिएको । धारिलो हतियार प्रयोग भएको भनेर आशंका गरिएता पनि बादी पक्षले देखाउन (बरामद नभएको) नसकेको; तर दुईजना बीच झगडा हुँदा एङ्गल लामाको अनुहारमा चोट परि होटेल बाहिर सडकमा मसिनो थोपाको रूपमा थोरै रगत देखिएता पनि होटेल भित्र त्यस्तो कुनै केहि नभएको भन्नेकुरा त्यहाँ उपस्थित भगवती श्रेष्ठ सहितको महिलाहरुको बयानमा समेत उल्लेख रहेको छ ।
दुई जनाबीच भएको झगडा छुट्टाईसके पस्चात त्यसपछि कुनै प्रकारको विवाद नभएको सम्पुर्ण तथ्यबाट देखिन्छ । मिसिल सङगलग्न सम्पूर्ण तथ्य प्रमाण, उच्चस्तरीय छानबिन समितिको प्रतिबेदन र त्रि.बि फरेन्सी मेडिसन संयुक्त बिज्ञरायको प्रतिबेदन सहित अन्य घटना विवरण कागजहरुको अध्ययन, मनन र बिबेचना गर्दा मृतक राधाकृष्ण बुढथापा अत्यधिक मादक पदार्थ सेबन गरी बिना हेल्मेट मृतकले अत्यन्तै तीब्र गतिमा सबारी हाकेको र माथिल्लो कालढुङ्गीको मोडनीर सवारी नियन्त्रणमा लिन नसकि उक्त दुर्घटनामा परि टाउकोमा लागेको चोटका कारण मृत्यु भएको ।
साथै शुरु जुम्ला जिल्ला अदालतको मिति २०७७ असार २१ गतेको फैसला मिलेको नदेखिदा उल्टि (बदर) भई निज पुनराबेदक प्रतिबादीद्वय खड्गजित रोकाया र एङ्गल भन्ने कुङ्गा लामा गुरुङ्गले आरोपित मुद्दाबाट सफाई पाउने ठहर्छ भन्ने सुर्खेत उच्च अदालत, जुम्ला ईजलासले तयार पारेको फैसलाको पुर्णपाठमा उल्लेख रहेको छ ।
उच्च अदालत सुर्खेत जुम्ला इजलासका सूचना अधिकारी तथा शाखा अधिकृत राकेशमणि उपाध्यायका अनुसार विशेष अनुसन्धान समितिकै प्रतिवेदनका आधारमा जिल्ला अदालतले जन्मकैद ठहर गरेका व्यक्तिलाई निर्दाेष ठहरी गरी ०७९ असार १३ गते सफाइ दिने फैसला गरेको हो ।
जिल्ला अदालतले जन्मकैद तोकेका व्यक्तिलाई सफाइ दिनु भनेको उच्च अदालत सुर्खेत जुम्ला इजलासले उन्मुक्ति दिएको हो । यो फैसलाप्रति हाम्रो घोर आपत्ति छ । सरासर गलत गरिएको छ,’ मृतक बुढ्थापाका बुबा रामकृष्ण बुढ्थापाले भने । राजनीतिक हस्तक्षेप वा आर्थिक प्रलोभनमा जिल्ला अदालतको फैसला उल्टिएको उनको आरोप छ । उनले भने, ‘घटनाका विषयमा तमाम सबुत प्रमाणहरू पेस गरी जिल्ला अदालतले गरेको फैसला उल्टिनु हामीलाई अन्याय भएको छ । यो न्यायचित फैसला होइन । न्यायालयले विश्वास गुमाएको अनुभूति भएको छ । अव सर्वाेच्च अदालतबाट न्याय प्राप्त गर्ने अपेक्षा गरेका छौँ ।




हाम्रो कर्णाली । २२ फाल्गुन २०७९, सोमबार १५:५९