




पूर्ण चौलागाईँ।
जुम्ला २ पौष
स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम जुम्लाका थप दुई पालिकामा लागु हुने भएको छ।
विश्व खाद्य कार्यक्रमको सहयोग तथा सम्बन्धित पालिकाको समन्वयमा जुम्लाका थप दुई स्थानीयतहरु चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकामा चालु आर्थिक वर्षदेखि स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम संचालन हुने भएको हो ।
यस अघि विश्व खाद्य कार्यक्रम मार्फत जिल्लाको तातोपानी गाउँपालिकामा भने अर्गानिक दिवा खाजाबारे कार्यक्रम गर्दै आएको छ । तातोपानीमा अर्गानिक दिवा खाजाको प्रभावकारीता बढेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक अबस्था सुधार तथा सामुदायिक विद्यालय प्रति बालबालिकाको आर्कषण बढाउन जिल्लाका थप दुई पालिका चन्दननाथ र पातारासीमा स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम संचालन संचालन हुन लागेको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक चक्र जीसिले बताए ।
आज आयोजित जिल्ला स्तरीय कार्यक्रम सुरुवाती तथा अभिमुखीकरण बैठकमा संयोजक जीसिले सामुदायिक विद्यालय प्रति बालबालिकाको आर्कषण बढाउन तथा स्थानीय उत्पादन बढाउनका साथै किसानको आयआर्जन बृद्धि गर्न अर्गानिक दिवा खाजा कार्यक्रम प्रभावकारी रहेको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख नरवीर सुनारले स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी भएकोले जिल्लाका आठै पालिकामा संचालन गर्नुपर्ने सुझाव दिए ।
जुम्लाको कृषि उत्पादनलाई विद्यालय सम्म पुराउन र पोषण स्थितीमा सुधार गर्न अर्गानिक दिवा खाजा कार्यक्रमलाई जिल्लाभर विस्तार गर्न जरुरी रहेको उल्लेख गरे ।
शिक्षा विकास तथा समन्वय ईकाइ जुम्लाका प्रमुख रमेश मल्लले अर्गानिक दिवा खाजा कार्यक्रमलाई विश्वखाद्य कार्यक्रमले मात्र नभई स्थानीय सरकारले आफ्नो लगानीमा भएपनि सबै पालिकामा विस्तार गर्नुपर्ने बताए ।
आधारभूत तहका बालबालिकालाई सरकारी विद्यालयमा पहुँच बृद्धि गर्न तथा पोषण स्थितीमा सुधार गर्नका लागि यो कार्यक्रम कोशेढुंगा सावित हुने उनको भनाई छ ।
बैंकमा तीनै पालिकाका जनप्रतिनिधि,सुरक्षा निकायका प्रमुख,कृषि शाखा प्रमुख,नेपाल पत्रकार महासंघका अध्यक्ष लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सबै सरोकारवालाले अर्गानिक दिवा खाजा कार्यक्रमलाई जिल्ला व्यापी बनाउनु पर्नेमा जोड दिएका छन् ।
जुम्लाका आठै पालिकामा विभिन्न रैथाने खाद्यन्नबाली उत्पादन हुने र प्रशोधन अभावले गाउँमै थन्कीने मुल्य नपाउने समस्या रहेको अबस्थामा स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे ।



